अब जंगली जनावरबाट हुने क्षतिलाई कृषि बीमाले कभर गर्ने
अब जंगली जनावरबाट हुने क्षतिलाई कृषि बीमाले कभर गर्ने
काठमाडौं । अब कुनै पनि खेतीपानीमा जंगली जनावरबाट हुने नोक्सानीलाई बीमा रक्षावरण (कभर) गर्ने भएको छ ।
विभिन्न जंगली जनावरले बिभिन्न खेतीहरु खाएर, कुल्चीएर, माडेर, खोस्रेर नोक्सानी गर्दै आएका छन् । तर, त्यसबापतको बीमा दावी भुक्तानी भने दिने/नदिने भन्ने बिषयमा पहिलादेखि नै दुविधा थियो । फलस्वरुप आम किसानहरु मर्कामा समेत परेका थिए ।
तर, अहिले नेपाल बीमा प्राधिरकणले जंगली जनावरहरुबाट हुने क्षतिको समेत दावी भुक्तानी दिन निर्जीवन बीमा कम्पनीहरुलाई आन्तरीक रुपमा निर्देशन दिएको छ । साथै, नयाँ पोलिसीहरुमा भने यसबारे स्पष्ट रुपमा व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ । यद्यपि, सम्वन्धित खेतीको बीमा भने गरेको हुनुपर्नेछ ।
अब धान, मकै, गहुँ, जौं र कोदो खेतीको पनि बीमा गर्न सक्ने
किसानले अब धान, मकै, गहुँ, जौं र कोदो खेतीको पनि बीमा गर्न सक्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले खाद्यान्न बाली बीमालेख लागू गरेपछि किसानहरुले उक्त बालीहरुको बीमा गर्न बाटो खुलेको हो ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको बीमालेखका अनुसार किसानले उत्पादनमा आधारीत रहेर यस्तो बीमा गर्न सक्नेछन ।
यस्तो बीमाले आगलागी, हुरीबतास, आँधीवेरी, बेमौसमी बर्षा, अतिवृष्टी, असिना, हिउँ, बाढी, खडेरी, तुसारो, चट्यान, रोग, किरा भुकम्पका कारण हुने क्षतिलाई रक्षावरण गर्दछ । साथै, आकीस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षतिलाई पनि यस बीमाले रक्षावरण गर्ने व्यवस्था गरिएको छ।
यसैगरि जंगली जनावरहरुको आक्रमण (खाएर, कुल्चीएर, माडेर, खोस्रेर) बाट हुने पनि क्षतिलाई यस बीमाले रक्षावरण गर्नेछ । यदि, बीमा अवधिमा यस्ता कारणबाट उक्त बालीहरुमा नोक्सानी भएमा बीमाले क्षतिपुर्ति दिनेछ । यसमा अक्तिरिक्तसुविधाको किसानको दुई लाख रुपैयाँ बरारबको दुर्घटना बीमा गर्न सकिने व्यवस्था पनि छ । दुर्घटनाका कारण किसान घाइते वा निजको मृत्यु भएमा २ लाख रुपैयाँ भुक्तानी गरिनेछ ।
यस्तो बीमाको अवधि बालीको जात, सिफारिस क्षेत्र तथा पाक्ने दिनलाइ आधार मोनर बढीमा ११ महिनासम्मको राख्न सकिने छ । बीमालेख जारी गर्दा घण्टा र मिनेटसमेत उल्लेख गर्नुपर्नेछ । अन्तिम मितिको रातको १२ बजेपछि बीमा अवधिमा समाप्त हुने व्यवस्था गरिएको छ ।
खाद्यान्न बालीको किसिम, जात, बाली लगाइएको क्षेत्रफल, जिल्लाको उत्पादकत्व, समर्थन मुल्यको आधारमा बीमाको बीमांक निर्धारण गरिनेछ । साथै, बीमांक कायम गर्दा कृषि तथा पशुपंक्षी मन्त्रालयबाट पछिल्लो वर्ष प्रकाशित भएको कृषिसम्बन्धी तथ्यांकलाइ समेत आधार मान्नुपर्नेछ ।
यस्तै, यसमा धान, मकै र गहुँ बाली बीमाको शुल्क बीमांकको ५ प्रतिशतका दरले तिर्नुपर्नेछ । यदि, १ लाख रुपैयाँ बीमांक कायम भएमा किसानले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । जौ र कोदो बालीको हकमा भने बीमांकको ३ प्रतिशतको दरले बीमाशुल्क तिर्नुपर्नेछ । यदि, १ लाख रुपैयाँ बीमांक कायम भएमा ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने बताइएको छ । यसै अन्तरगत गरिने किसानको दुर्घटना बीमाको लागि प्रति व्यक्ति ५ सय रुपैयाँ शुल्क लाग्ने बताइएको छ ।













