जनगणनाको नयाँ तथ्यांक: फेरिएको आर्थिक एवम् सामाजिक परिदृष्यहरु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

जनगणनाको नयाँ तथ्यांक: फेरिएको आर्थिक एवम् सामाजिक परिदृष्यहरु



काठमाडौं । जनगणनाको नयाँ तथ्यांकले जनसांख्यिक बनोटमात्रै नभएर आर्थिक एवम् सामाजिक परिदृष्यहरु पनि फेरिएको देखाएको छ । मानिसहरुको वास्तविक आयमा कति बदलाव आयो भन्ने यथेष्ट विवरण यो तथ्यांकमा छैन । तर समाजमा कयौं देखिने खालका परिवर्तन भएको पाइएको छ । मानिसहरु पहिलेभन्दा सुरक्षित घरमा बस्न थालेका छन् । आधुनिक सञ्चार उपकरणहरुमा पहूँच बढेको छ । ऊर्जा एवम् इन्धनको प्रयोगमा ठूलो परिवर्तन देखिएको छ । सर्वाधिक मानिसहरु काम गर्ने उमेर समूहमा छन् र बेरोजगारी दर पनि एकल अंकमा देखिएको छ ।

वासस्थानमा सुधार

यो जनगणनाले पहिलो पटक दुई तिहाई जनसंख्या नगर अर्थात् शहरी क्षेत्रमा बसोबास गर्ने गरेको विवरण अघि ल्याएको छ । दुर्गम गाउँलाई पनि नगरपालिका घोषणा गरिएकाले यस्तो अवस्था आएको हो । तर मानिसहरुको शहरउन्मुख भएको तथ्यांक बसाइँ सराइको बढ्दो दरले पनि देखाउँछ ।

अहिले देशका ८६ प्रतिशत परिवार आफ्नै घरमा बसोबास गर्छन्, जबकी १० वर्षअघि आफ्नै स्वामित्वको घरमा बस्ने परिवार संख्या ८५.३ प्रतिशत र भाडामा बस्नेको संख्या १२.८ प्रतिशत नै थियो । ईटा वा ढुंगालाई माटोले जोडेर जग राखिएको घरको संख्या ४४.२ प्रतिशतबाट ३३ प्रतिशतमा झरेको छ भने सिमेण्टको प्रयोग गरेर जग हालिएको घरको संख्या १७.६ प्रतिशतबाट बढेर २९.८ प्रतिशत पुगेको छ । यसले सिमेण्टको प्रयोग ह्वात्तै बढेको देखिन्छ । ५२.२ प्रतिशत घरको भित्तामा सिमेण्टको प्रयोग गरिएको छ । ४१.९ प्रतिशत घरको छानो जस्ता टीनको छ । ३७.८ प्रतिशत घरमा सिमेण्टको ढलान बनेको छ । खर, पराल, छ्वालीबाट छानो राख्ने आवासीय घरको संख्या ३.९ प्रतिशतमा झरेको छ, जुन १० वर्षअघि १९ प्रतिशत थियो । २०६८ मा टिनको छानो हुने घर २८.३ प्रतिशत र सिमेण्ट ढलान हुने घर २२.५ प्रतिशत थियो । घरको भूईँमा पनि सिमेण्टको प्रयोग ४७.३ प्रतिशत र माटोको प्रयोग ४६.२ प्रतिशत छ ।

हट्यो टुकी

बत्ती बाल्न पनि विजुली प्रयोग गर्नेको संख्या ६७.३ प्रतिशतबाट ९२.२ प्रतिशत पुगेको छ । अरु ६.६ प्रतिशतले सौर्य ऊर्जाको प्रयोग गर्ने गरेका छन् । यही कारण १० वर्षअघि १८.३ प्रतिशतले प्रयोग गर्ने मट्टितेल अब ०.६ प्रतिशत परिवारका लागि मात्रै मुख्य इन्धन बनेको छ । यसमा पनि मट्टितेलको बढी प्रयोग लुम्बिनी र मधेश प्रदेशमा देखिएको छ ।

१० वर्षअघि ६४ प्रतिशत परिवारले खाना पकाउन मुख्य रुपमा दाउराको प्रयोग गर्ने गरेका थिए । अहिले घटेर ५१ प्रतिशतमा झरेको छ । एलपी ग्यास प्रयोग गर्नेको संख्या अहिले ४४.३ प्रतिशत पुगेको छ । बत्ती बाल्न पनि विजुली प्रयोग गर्नेको संख्या ६७ प्रतिशतबाट ९२ प्रतिशत नाघेको छ । अरु ६.६ प्रतिशतले सौर्य ऊर्जाको प्रयोग गर्ने गरेका छन् । यही कारण १० वर्षअघि झण्डै साढे १८ प्रतिशतले प्रयोग गर्ने मट्टितेल अब ०.६ प्रतिशत परिवारका लागि मात्रै मुख्य इन्धन बनेको छ । यसमा पनि मट्टितेलको बढी प्रयोग लुम्बिनी र मधेश प्रदेशमा देखिएको छ ।

देशमा ९५ प्रतिशत परिवारले कुनै न कुनै किसिमको शौचालय प्रयोग गरिरहेको छ । १० वर्ष अघि ४० प्रतिशत हाराहारीले मात्रै शौचालय प्रयोग गर्ने गरेका थिए । यसले खुला दिशामुक्त अभियानमा निकै ठूलो योगदान पुर्याएको छ । इलेक्ट्रिक ग्याजेटमा पनि उल्लेख्य प्रगति भएको छ । ७३ प्रतिशत परिवारमा स्मार्ट फोनको प्रयोग भइरहेको देखिएको छ । ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इण्टरनेट र ३५.२ प्रतिशत परिवारमा साइकल उपलब्ध रहेको छ ।

आफ्नै उद्यम

यो जनगणनाले अनौपचारिक अर्थतन्त्रको आकारबारे पनि अध्ययन गरेको छ । कुल जनसंख्याको साढे ९ प्रतिशत अर्थात् ६ लाख २८ हजार परिवारले कुनै पनि सरकारी निकायमा दर्ता नगरी र एक जना पनि तलबी कामदार नराखी व्यवसाय सञ्चालन गरेको पाइएको छ । कृषि बाहेकका यस्ता व्यवसायमध्ये करीब आधाले ब्यापार गरिरहेका छन् । २२ प्रतिशत घरेलु उद्योग र साढे ५ प्रतिशतले यातायात व्यवसाय सञ्चालन गरिरहेका छन् ।

बेरोजगारी ७ प्रतिशतभन्दा कम

अहिले १० वर्ष माथिका ८२ लाख ११ हजार अर्थात् ३४ प्रतिशतभन्दा धेरै जनसंख्या आर्थिक रुपले निष्कृय रहेको देखिएको छ । उक्त निष्कृय जनसंख्यामा अध्ययनरत विद्यार्थी, बृद्धबृद्धा र रोगी अशक्त एवम् अपांगता भएका व्यक्तिहरु पनि पर्छन् । आर्थिक रुपमा सक्रीय रहेका १ करोड १० लाख जनसंख्यामध्ये ९३ प्रतिशत अक्सर रोजगार रहेको आँकडा कार्यालयले प्रस्तुत गरेको छ । यसको अर्थ नेपालमा बेरोजगारी दर केवल ६.९५ प्रतिशत रहेको देखिएको छ ।

आर्थिक काममा संलग्न डेढ करोड जनसंख्यामध्ये ५७ प्रतिशतभन्दा धेरै मानिस कृषि, वन तथा माछापालनमा दक्ष कामदार हुन् । थोक तथा खुद्रा ब्यापार र अटोमोबाइल मर्मतमा साढे १२ प्रतिशत, निर्माणमा ८ प्रतिशत र औद्योगिक उत्पादनमा ४ प्रतिशतभन्दा कम मानिसहरु संलग्न छन् ।

२२ लाख मानिस विदेशमा

देशमा २१ लाख ९० हजार ५ सय ९२ जना अनुपस्थित जनसंख्या देखिएको छ । यी मानिसहरु १५ लाख ५६ परिवारका सदस्य हुन् । यो तथ्यांकले शिक्षा र रोजगारीका लागि विदेश गएको आँकडा देखाउँछ । सिंगो परिवार नै विदेशमा रहेका नेपाली नागरिकको तथ्यांक भने जनगणनामा समेटिएको छैन । तर यसअघि अनुमान गरेजस्तो ३०–४० लाख मानिस विदेशमा छैनन् भन्ने यस आँकडाले देखाएको छ । १० वर्षअघि यसैगरी अनुपस्थित जनसंख्या १९ लाख २१ हजार थियो । यसले पछिल्लो एक दशकमा विदेशमा रहेका नेपालीको संख्या करीब पौने ३ लाख मान्छेमात्रै बढेको देखाउँछ । तथापि, जनगणनाको समयमा कोभीड महामारीका कारण भारतसहित विदेशमा भएका धेरै नेपाली घर फर्किएर बाहिर जान पाएका थिएनन् । यसले अनुपस्थित जनसंख्याको आँकडा कम देखिन पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्