१० श्रावण २०८३, आइतबार

मर्जरपछि चुक्तापुँजी नपुग्ने बीमा कम्पनीलाई मात्रै ‘राइट सेयर’ जारी गर्न दिइने

मर्जरपछि चुक्तापुँजी नपुग्ने बीमा कम्पनीलाई मात्रै ‘राइट सेयर’ जारी गर्न दिइने



काठमाडौं । मर्जरपछि पनि चुक्तापुँजी नपुग्ने बीमा कम्पनीहरुले मात्रै हकप्रद सेयर जारी गर्न पाउने भएका छन् ।

मर्जरपछि पनि कतिपय बीमा कम्पनीहरुको तोकिएको न्यूनतम चुक्तापुँजी पुगेको छैन । त्यसपछि नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा सहभागी भएका बीमा कम्पनीलाई मात्रै हकप्रद सेयर मार्फत चुक्तपुँजी बढाउन सक्ने नीति ल्याएको हो ।

हाल जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ बराबरको न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ । तर, यही चैत मसान्त भित्र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० रुपैयाँ बराबरको न्यूनतम चुक्तापुँजी कायम गर्नुपर्ने छ । त्यसका लागि अधिकांश बीमा कम्पनी मर्जर प्रक्रियामा गएका छन् । कतिपय बीमा कम्पनीहरुले भने हकप्रद मार्फत चुक्तापुँजी बढाउने योजनामा छन् । तर, प्राधिकरणले अन्तिम समयममा आएर चुक्तापुँजी बढाउनकै लागि बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न नदिने भएको हो । मर्जर भएपछि पनि चुक्तापुँजी नपुगेको अवस्थामा मात्रै हकप्रद सेयर जारी गर्न दिने नीति प्राधिकरणले ल्याएको हो ।

योसँगै हकप्रद सेयर जारी गरेर चुक्तापुँजी बढाउने योजनामा रहेका बीमा कम्पनीहरुलाई मर्जरमै जानुपर्ने बाध्यता देखिएको छ । साथै, मर्ज भएपछि पनि चुक्तापुँजी नपुगेका पनि सहजता प्रदान भएको छ ।

मर्जरमा जाने बीमा कम्पनीले मात्रै हकप्रद सेयर जारी गर्न पाउने बीमा प्राधिकरण स्रोतले बतायो । स्रोतले भन्यो,–‘चुक्तापुँजी बढाउनकै लागि बीमा कम्पनीहरुलाई हकप्रद जारी गर्ने अनुमति दिदैनौं । चुक्तापुँजी बढाउन बीमा कम्पनी मर्जरमा सहभागी हुनैपर्नेछ,’ स्रोतले भन्यो, ‘मर्जपछि पनि चुक्तापुँजी पुगेन भने बल्ल हकप्रद जारी गर्न दिन्छौं । ’