व्यवसायीक समस्या समाधान र महासंघभित्र वस्तुगत संघलाई बलियो बनाउन उपाध्यक्षमा उम्मेदवारी: हेमराज ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यवसायीक समस्या समाधान र महासंघभित्र वस्तुगत संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएर अघि बढेको बताएका छन् ।
अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन वस्तुगत संघका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘महासंघको पुरानो साख जोगाएर उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।’
महासंघ संचालनमा वस्तुगत संघ र वस्तुगत तर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहेको भन्दै सोही अनुरुप सम्मानजनक व्यवहार गरिनुपर्ने उनको भनाई रहेको छ । ‘प्रायःजसो वस्तुगत संघ केन्द्रमा भएका कारणले पनि महासंघको हरेक गतिविधिमा वस्तुगत तर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहँदै आएको छ,’ उनले भने, ‘तर महासंघमा वस्तुगत परिषद्लाई एसोसिएट्स भन्दा कम अर्थात २० प्रतिशतमात्रै मतभार तथा सोही अनुरुप कम अधिकार दिइएको छ ।’
हाल महासंघले वस्तुगत संघहरुको क्षमता अभिवृद्धिमा चासो नदिएको भन्दै आफु उपाध्यक्षमा निर्वाचित भएर गएसँगै सो विषयमा समेत काम गर्ने बताएका छन् । आफु महासंघमा वस्तुगतत र्फतबाट केन्द्रिय सस्दय भएर विभिन्न समितिको जिम्मेवारी लिँदा वस्तुगत संघको हकहितमा थुप्रै काम गरेको जानकारी दिँदै उपाध्यक्ष भएपछि वस्तुगत संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने उनको प्रतिवद्धता थियो । नेपालमा वास्तविक रुपमा उद्योग व्यवसाय संचालन गरेर देशको अर्थतन्त्र चलायमान बनाउने भनेको वस्तुगत संघमा आवद्ध रहेका साथिहरुले रहेको उनले भने, ‘महासंघको ब्रेन भनेको वस्तुगत संघ हो तर त्यसको सदुपयोग गर्न नसकेको बताए ।
नेपालमा मौलिक वस्तुहरु उत्पादन गरी निर्यात गरेर देशमा डलर भित्र्याएर अर्थतन्त्रमा योगदान दिने काम गर्दै आएको भन्दै यसको विकास र प्रवद्र्धनमा सरकारले विशेष चासोका साथै सोही अनुरुप सुविधा दिनुपर्ने उनको भनाई रहेको छ । अहिले महासंघमा आवद्ध वस्तुगत संघको राय सुझाव मात्रै लिएर कार्यान्यवनमा लैजाने हो भने देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सहज हुने उनले बताए । वस्तुगत संघको सुझाव न राज्यले सुनेको छ न त महासंले नै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार ढकालले भने, ‘व्यवसायीक समस्यालाई सम्बद्ध सरोकारवाला निकायमा पुर्याएर समाधान गर्नकै लागि उपाध्यक्ष भएर महासंघमा जान लागेको हुँ ।’
साथै, विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य वृद्धि हुन पुग्दा उद्योगी व्यवसायीहरु मारमा परेको समेत उनले जानकारी दिए । अहिले कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उद्योगहरुको उत्पादन लागत बढ्न गई उत्पादन समेत नबिक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘एकतर्फ मागमा आएको गिरावट अर्कोतर्फ बजारबाट उधारो नउठ्दा बढी समस्या थपिएको छ ।’ यस्ता विषयमा समेत सरकार र अन्य सरकारवाला निकायले सुनुवाई गरी समस्या समाधान गर्नुपर्ने उनको भनाई रहेको छ ।













