अघि बढ्यो नेपाल र प्रभु इन्स्योरेन्सको मर्जर प्रक्रिया, होला त सम्भव ?
अघि बढ्यो नेपाल र प्रभु इन्स्योरेन्सको मर्जर प्रक्रिया, होला त सम्भव ?
काठमाडौं । अजोड इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया भाँडिएपछि लामो समय तटस्थ बसेको प्रभु इन्स्योरेन्स अन्ततः नेपाल इन्स्योरेन्ससँग मर्जरमा जाने संकेत देखिएको छ ।
हाल यी दुवै कम्पनीका सञ्चालक लगायतका उच्च पदस्थ अधिकारीहरु मर्जरका लागि आन्तरीक छलफलमा जुटेका हुन् । गत असारमा अजोड र प्रभु इन्स्योरेन्स बीच मर्जरको प्रारम्भिक सहमति भएको थियो, जुन सहमति गत पुस २७ गते भाँडिएको थियो । त्यस लगत्तै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सहमती गर्यो । त्यसबेला प्रभु इन्स्योरेन्सले भने मर्जरका लागि नयाँ पार्टनर खोजेको थिएन । अहिले भने प्रभु र नेपाल इन्स्योरेन्स एक आपसमा मर्ज गर्ने गरि छलफल भइरहेको एक कम्पनीका उच्च स्रोतले बताए ।
नेपाल इन्स्योरेन्स नेपालकै पहिलो बीमा कम्पनी हो । नेपाल बैंकले २००४ साल यो कम्पनी स्थापना गरेको थियो । तत्कालिन समयमा नेपाल माल चलानी तथा बीमा कम्पनी रहेको यसको नाम २०४८ यता भने नेपाल इन्स्योरेन्स रहेको छ । सोही कम्पनी र प्रभु इन्स्योरेन्स मर्जमा जान लागेका हुन् । अब छिट्टै छलफल टुंग्याएर मर्जरको प्रारम्भीक सहमति गरिने बताइएको छ ।
हाल निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीको न्यूनतम २ अर्ब हुनुपर्ने व्यवस्था छ । तर, यही चैत मसान्त भित्र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको न्यूनतम चुुक्तापुँजी पुर्याउनुपर्ने छ । यसका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत बर्षको चैतमै निर्देशन जारी गरेको थियो । साथै, बीमा कम्पनीहरु पुँजी बढाउन मर्जरमै जानुपर्ने प्राधिकरणको दबाव छ । त्यसपछि चुक्तापुुँजी पुर्याउन अधिकांश बीमा कम्पनीहरु मर्जरमा सहभागी भएका छन् । कतिपयले एकीकृत कारोबार समेत गरिसकेको छन् । सोही क्रममा प्रभु र नेपाल इन्स्योरेन्स मर्जरमा जाने गरि छलफल अघि बढाएका हुन् ।
रहर कि बाध्यता ?
यी दुई कम्पनीको मर्जर रहर भन्दा पनि बाध्यता जस्तो देखिएको छ । किनकी, यी दुई कम्पनीलाई मर्जरमा जान अन्य वैकल्पीक कम्पनी नै छैनन् । नेपालमा २० निर्जीवन कम्पनी थिए । त्यसमा १२ कम्पनी यसअघि नै मर्जर प्रक्रियामा गएका छन् । बाँकी रहेको ८ कम्पनीमा शिखर र नेको इन्स्योरेन्सको पहिलादेखि नै तोकिएको न्युनतम चुक्तापुँजी कायम छ । त्योअनुसार उनीहरुलाई चुक्तापुँजी बढाउनकै लागि मर्जरमा जानुपर्ने दबाब नै छैनन ।
यसैगरि, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा सरकारले नै पुँजी थप्न सक्नेछ । तर, वर्षाैदेखि साधारण सभा समेन नगरेको यो कम्पनीको चुक्तापुँजी बढाउने योजना नै अन्योलमा छ । साथै, सरकार र निजी कम्पनी मर्ज हुने सम्भावना पनि न्यून छ । यसैगरि विदेशी कम्पनी दि ओरियन्टल र नेशनल इन्स्योरेन्सले पनि आफैले पुँजी थप गर्दैछन् ।
त्यसपछि बाँकी हुने प्रभु, नेपाल र एनएलजी इन्स्योरेन्स नै हो । त्यसमा पनि एनएलजी इन्स्योरेन्स भने आफै पुँजी थप्ने योजनामा रहेको बुझिन्छ । त्यो अवस्थामा नेपाल र प्रभुलाई मर्जरमा जान अन्य वैकल्पीक कम्पनी नै थिएन । साथै, आफै पुँजी थप गर्ने अवस्था पनि थिएन । सोहीअनुसार यी दुई कम्पनीको मर्जर रहर भन्दा पनि बाध्यता जस्तो देखिएको छ ।
मर्जर सफल हुने सम्भावना कति ?
पछिल्लो परिस्थीतिअनुसार यी दुई कम्पनीको मर्जर बाध्यतात्मक बनेको छ । साथै, यी दुई कम्पनीलाई मर्जरमा जान नियामक निकाय प्राधिकरणले अनौपचारिक रुपमा मार्गदर्शन (दवाव) दिइरहेको बुझिएको छ ।
त्यसको असरले पनि उक्त दुई कम्पनीहरु मर्जरमा जान लागेको देखिन्छ । साथै, आफैले पुँजी थप गरेर चुक्तापुँजी बढाउने अवस्था पनि छैन । सोही आधारमा यी दुई कम्पनीको मर्जर सफल हुने सम्भावना पनि उच्च देखिन्छ ।
यी दुवै कम्पनी मर्जभएपछि चुक्ता पुँजी २ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ पुग्नेछ । हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख १२ हजार रुपैयाँ छ । यता, नेपाल इन्स्योरेन्सको भने १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।













