महासंघ वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि अन्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार श्रेष्ठले महासंघको कार्यालयमा उम्मदेवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तासंगै श्रेष्ठले भने, ‘अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ। अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ।’
आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।
उनको समूहबाट वस्तुगत तर्फबाट उपाध्यक्षमा मनिषलाल प्राधन, जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी र एशोसिएटमा प्रवलजंग पाण्डले उम्मदेवारी दिएका छन् ।
एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे। एसोसिएट्समा दुबैतर्फका बराबर सदस्यहरु राख्ने सहमति भएको छ।
यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन्।













