बैशाख ६ गतेदेखि ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ निष्कासनमा आउने
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले बैशाख ६ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गर्ने लागेको हो ।
जसमा मध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले उक्त फण्डमा छिटोमा बैशाख १० गते र ढिलोमा बैशाख २० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । यस निष्कासनमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिनेछ । यसको अवधि १० वर्षको रहेको छ । कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।













