७ श्रावण २०८३, बिहिबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन: ६४ पदमा ११६ जना प्रतिस्पर्धी, यस्तो छ निर्वाचन कार्यतालिका



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्ने मिति नजिकिएको छ । चैत २८ र २९ गते हुने निर्वाचनका लागि महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंको सम्पूर्ण कम्पाउण्ड एरियालई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन अवधिभर मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानरहरु टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न निशेष गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार मतदान समय भने चैत २९ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । उक्त समयभित्र मतदान स्थलभित्र प्रवेश गर्ने मतदातालाई जतिसुकै समय लागे पनि भोट खसाल्न दिइने छ ।तोकिएको समयावधिमा मतदात सुरु हुन नसके त्यति नै समय थप गरिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएकाले आफ्नो मोबाइल, क्यामरा, झोला लगायतका वस्तुहरु आफन्त वा सुरक्षा कर्मीलाई बुझाउनुपर्ने बताइएको छ ।
मतदान गर्न जाँदा मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय पत्र खुल्ने फोटोसहितको परिचय पत्र अनिवार्य गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

यस्तै, जिल्ला/नगर तथा वस्तुगत संघ समूहको मतदान केन्द्रका लागि केन्द्र–१, वस्तुगत समूहको लागि केन्द्र–१ र एसोसिएट तर्फका मतदान केन्द्र–३ कायम गरिएको बताइएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्ला/नगर समूहका सबै पदका लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ ।

मत गणना स्थलमा मादक पदार्थ सेवन गरी प्रवेश गरी होहल्ला गर्न शान्ति सुव्यवस्था खलल पार्न निषेध गरिएको छ । यस्तो क्रियाकलाप भए गरेको पाइएमा सुरक्षा कर्मीको सहायताले हल बाहिर पठाउन सकिने निर्वाचनको कार्यालयले जनाएको छ ।

यस्तै, मतपत्र दिनु अघि हस्ताक्षर गरी आफ्नो परिचय पत्रमा मतदान गरेको संकेत स्वरुप परिचय पत्रमा प्वाल पारिने भएकोले सो समेत गराई मत पत्र रुजु गरी बुझी लिन र पद अनुसारका अलग अलग मत पेटिका राखिएकोले कुन मत पत्र कुन मत पेटिका खसाल्ने हो सो समेत यकिन गरी सम्बन्धित मतपेटिकामा खसाल्नु पर्ने बताइएको छ ।

बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्वारहरुले तीन तीन जना मतदान/मत गणना प्रतिनिधि राख्न सक्ने भएकोले मतदान शुरु अघि प्रतिनिधि तोकि पठाउनका लागि निर्वाचन कार्यालयले अनुरोध समेत गरेको छ ।

६४ पदमा ११८ उम्मेदवारी, २ जना निर्विरोध चयन

आगामी मंगलबार र बुधवार हुने महासंघको नयाँ नेतृत्वका लागि ११८ जनाले उम्मेदवारी दिएका छन् । ६४ पदमा सो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यीमध्ये दुई जना भने एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भएका हुन् । दुई जना निर्विरोध भएकाले अब ११६ जनाको प्रतिस्पर्धा हुनेछ ।

महासंघ निर्वाचन कार्यालयका अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी गरेको छ । वरिष्ठ उपाध्यक्षका उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

विधान अनुसार अहिले निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने छ । यसै व्यवस्था अन्तरगत वर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चैत अन्तिमबाट स्वतः महासंघको अध्यक्ष बन्दैछन् । महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । यही कारण महासंघमा बरिष्ठ उपाध्यक्षकै नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने गरेको छ ।

अन्य कुन पदका कसको उम्मेदवारी ?


प्रतिक्रिया दिनुहोस्