सवारी साधनहरुलाई विलाशीता वस्तुको वर्गिकरणबाट हटाउन अर्थमन्त्रीलाई आग्रह
काठमाडौं । नाडाका अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको वर्गिकरणबाट हटाउन आग्रह गरेका छन् । चैत्र २६ गते आइतबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेका थिए ।
अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने बताए ।
त्यसले दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरेका छन् । त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिनु भयो ।
सो छलफलको क्रममा मन्त्री महतले आफु धेरै अपठयारो परिस्थितिमा आएको बताउनु हुदै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ त्यसबारे आउदो बजेट सुझावमा समावेशगरी पठाई दिन आग्रह गर्दे त्यसको समुचित समाधानका लागि प्रयाश गरिने आश्वासन दिएका छन् । मन्त्री महतले अव अटोमोवाइल व्यवसायीहरुले विद्युतिय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरेका छन् ।
अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे ।
त्यसैगरी, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेको बताए । डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरेका छन् ।
नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।













