निर्माण व्यवसायीहरूलाई भुक्तानी दिँदा तत्काल सरकारी कोष नै बलियो हुन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताए ।
निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित् क्षेत्रको ध्यानाकर्षण गराइसकेको गभर्नर अधिकारीले जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा गभर्नर अधिकारीले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिँदा तत्काल सरकारी कोष नै बलियो हुने धारणा राखे । महासंघले उपलब्ध गराएको निर्माण उद्योगसँग सम्बन्धित् बैंंकिङ क्षेत्रको समस्याका बारेमा राष्ट्र बैंकले गहन अध्ययन गरी जायज माग सम्बोधन गरिने प्रतिबद्धता पनि गभर्नर अधिकारीले व्यक्त गरे ।

महासंघ अध्यक्ष रवि सिंहले व्यवसायीहरूको ठूलो रकम राज्यले निकासा नगर्दा ‘सप्लाई चेन’ मै गम्भीर समस्या आएको जानकारी गराए । निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि बैंकहरू लचिलो नभए समस्या अझ विकराल हुन सक्ने अध्यक्ष सिंहले बताए ।
क्रेडिट रेटिङ, ब्याज दर समायोजन, ठेक्का कर्जा, चाल् पूजीँ कर्जा सम्बन्धी मागनिर्देशन, चेक बाउन्स, कालोसूची, पुर्नकर्जा लगायतका विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानको लागि सम्बन्धित निकायहरुमा आवश्यक निर्देशन गरिदिन समेत अनुरोध गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, नीतिगत उपमहासचिव शिवहरि घिमिरे र महासंघका कानूनी सल्लाहकार टंकबहादुर दुलालले बैंकहरूसँग सम्बन्धित् अन्य विविध समस्या बारे गभर्नर अधिकारलिाई जानकारी गराएका थिए ।













