१९ श्रावण २०८३, मंगलबार

‘नेपाली बैंकिङ्ग क्षेत्र सुरक्षित छ, ब्याजदर घट्ने चरणमा छ’: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर घट्दो अवस्थामा रहेको बताएका छन् ।

मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको सम्वन्धमा राष्ट्र बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

नेपाली अर्थतन्त्र सूचकहरु विस्तारै सकरात्मक बन्दै गएकाले निक्षेप र कर्जाको ब्याजदर घट्ने चरणमा रहेको गभर्नर अधिकारीको भनाई थियो ।

उनले भने,–‘माघ महिनादेखि निक्षेपको ब्याजदर घट्ने क्रममा छ, कर्जाको पनि बढ्न रोकिएको छ । तर अब निक्षेप र कर्जाको ब्याजदर घट्ने चरणमा छ ।’ ब्याजदर बजारले निर्धारण गर्ने उनको भनाई थियो । उनले भने,–‘ब्याजदर बजारले निर्धारण गर्छ । यसमा राष्ट्र बैंकल केही सहजीकरण मात्र गरिदिने हो ।’

सोही अवसरमा गर्भनर अधिकारीले नेपाली बैंकहरु सुरक्षित रहेको बताए । पछिल्लो समय वित्तीय सूचकहरुमा सुधार आएकाले डराउनुपर्ने अवस्था नरहेको गभर्नर अधिकारीको भनाई थियो । गभर्नर अधिकारीले भने,–‘गत आर्थिक वर्षमा भन्दा यस आवमा बैंकहरुको खराब कर्जा बढेपनि आत्ति हाल्नुपर्ने अवस्था छैन । नेपालका बैंकहरु सुरक्षित छन् ।’

यद्यपि, अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष बैंकहरुको खराब कर्जा बढी देखिएको उनको भनाई छ । वित्तीय तथ्याङ्कहरु बलिया भएकाले सानोतिनो धक्काले जोखिम आउने अवस्था नरहेको उनको भनाई छ ।