फराकिलो बन्दै बीमाको दायराः ४५% नेपालीमा पुग्यो पहुँच, मर्जरले कार्यालय र कर्मचारीको संख्या पनि घट्दै
फराकिलो बन्दै बीमाको दायराः ४५% नेपालीमा पुग्यो पहुँच, मर्जरले कार्यालय र कर्मचारीको संख्या पनि घट्दै
काठमाडौं । नेपालीहरुमा बीमाको पहुँच बढ्दो क्रममा छ । पछिल्लो एक वर्षमा बीमाको दायरा बीमाको दायरा (म्यादी,लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ८.६० प्रतिशतले बढेको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रतिवेदनमा प्रकाशित जनसंख्याको आधारमा बीमाको दायरा गणना भएको प्राधिकरणले जनाएको छ ।
फागुन मसान्तसम्ममा ४४.०५ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको छ । गत आवको फागुन मसान्तसम्ममा भने ३५.४५ प्रतिशत नेपाली बीमाको पहुँचमा देखिएका थिए । प्राधिकरणका अनुसार म्यादी र लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३९.४६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षका समिक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख सहितको बीमा पहुँच ३२.६२ प्रतिशत मात्रै रहेको थियो ।
प्राधिकरणले संस्थागत तथा संरचनागत सुधारका कारण पनि बीमाको पहुँच बढेको जनाएको छ । प्राधिकरणले पछिल्लो समयमा स्थानीय तहसंगको समन्वयमा बीमाको दायरा फराकिलो बनाउने तथा जनचेतना अभिवृद्धि गर्ने लगायतको बीमा पहुँच बढाउने अभियानलाई समेत तिव्रता दिएको छ । प्राधिकरणले खासगरि जीवन बीमा मार्फत अनिवार्य बचत परिचालन र जोखिम व्यवस्थापनलाई संगसंगै लैजाने, सबै प्रकारका सम्पत्तिको बीमाका लागि व्यवस्थापन मिलाउने, जनचेतना अभिवृद्धि गर्ने, कृषि बीमामा प्राप्त हुने अनुदान स्थानीयस्तरमा लैजाने र न्युन आय भएका वर्गलाई बीमाको दायरामा ल्याउने उदेश्य अनुरुप बीमा सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु धमाधम गरिरहेको छ, जसले सर्वसाधारणमा बीमाप्रति चेतना जगाएको छ ।
जोखिम व्यवस्थापनको महत्वपूर्ण औजारका रूपमा रहेको बीमालाई आम नागरिकको दैनिकीसँग जोड्नका लागि प्राधिकरणले प्रदेश तथा स्थानीय सरकारहरूसँग छलफल एवम् अन्तरक्रिया लगायतका कार्यक्रमहरू समेत आयोजना गरी आवश्यक पहल गर्दै आइरहेको प्राधिकरणले जनाएको छ । आगामी दिनमा अझै प्रभावकारी रुपमा उल्लेख्य रुपले बढ्दै जाने प्राधिकरणले जनाएको छ ।
चालु आवको आठ महिनामा बीमा कम्पनीहरुले कुल १ खर्र्ब १९ अर्ब ५९ करोड ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको फागुन मसान्तसम्ममा भने कम्पनीहरुले १ खर्ब १७ अर्ब ४९ करोड १४ लाख ६४ हजार बीमा शुल्क आर्जन गरेका थिए ।
चालु आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १.६६ प्रतिशतले मात्रै बढेर ९३ अर्ब ७२ करोड ५२ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने कम्पनीहरुले ९२ अर्ब १९ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कुल जीवनको संख्या भने २५.१५ प्रतिशते बढेर १ करोड ४० लाख १ हजार ५७७ पुगेको छ ।
यस्तै, चालु आवको फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले २५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपैयाँ आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २.२७ प्रतिशतले मात्रै बढी हो । सो अवधिमा निर्जीवन बीमालेखको संख्या भने ३.२४ प्रतिशतले घटेर १८ लाख ७६ हजार ४५३ कायम भएको छ ।
प्राधिकरणका अनुसार म्यादि, लघु म्यादी र वैदेशिक रोज बीमालेख बाहेकको जीवन बीमाको संख्यामा ३२.०८ प्रतिशतको बढोत्तरी देखिएको छ । म्यादि र लघु म्यादी जीवन बीमालेखको संख्या भने १४.२१ प्रतिशतले बढेर ६६ लाख ७९ हजार २७० पुगेको छ । यस्तै, वैदेशिक रोजगार बीमालेखको संख्या भने ६३.७४ प्रतिशतले वृद्धि भई १३ लाख ९३ हजार ९५६ पुगेको प्राधिकणको तथ्याङ्कमा उल्लेख छ ।
मर्जरका कारण घट्दै बीमा कम्पनीको कार्यालय र कर्मचारीको संख्या
बीमा कम्पनीहरु धमाधम मर्जरमा गईरहेका छन् । मर्जरका कारण पछिल्लो समय बीमा कम्पनीहरुको शाखा कार्यालय तथा कर्मचारीहरुको संख्या पनि घट्दै गएको छ ।
गत वर्षको फागुन मसान्तसम्मम ३ हजार ३२९ वटा रहेका बीमा कम्पनीहरुको कार्यालय यस वर्षको सोही अवधिमा भने ३.४२ प्रतिशतले घटेको छ । चालु आवको आठ महिनामा कम्पनीहरुको कार्यालय ३ हजार २१५ कायम भएको छ ।
यस्तै, सो अवधिमा बीमा कम्पनीहरुका कर्मचारीको संख्या पनि २.७७ प्रतिशतले घटेको छ। चालु आवको फागुन मसान्तसम्ममा भने बीमा कम्पनीहरुको कर्मचारीको संख्या ११ हजार ५२४ रहेका छन् । गत वर्षको समिक्षा अवधिमा भने ११ हजार ८५२ रहेको थियो ।













