स्वास्थ्य बीमा कार्यक्रमः प्रिमियमभन्दा १५ अर्ब २८ करोड बढी दावी भुक्तानी, दिगो रुपमा संचालन गर्न कठिनाई
स्वास्थ्य बीमा कार्यक्रमः प्रिमियमभन्दा १५ अर्ब २८ करोड बढी दावी भुक्तानी, दिगो रुपमा संचालन गर्न कठिनाई
काठमाडौं । सरकारले देशभर स्वास्थ्य बीमा योजना कार्यक्रम संचालन गरिरहेको छ । स्वास्थ्य बीमा बोर्ड गठन गरि २०७१ सालेदेखि कार्यक्रम सुरु गरिएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ७ वर्ष पुरा भएको छ । सरकारले बीमा कार्यक्रम सुरु भएको पाँच वर्षमा सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको थियो । तर, सात वर्षको वितिसक्दा पनि दायरामा आउन कठिनाई देखिएको छ ।
हाल देशका सातै वटा प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । सुरुवात चरणमा स्वास्थ्य बीमाबारे नागरिकले खासै चासो नदिएपनि पछिल्लो भने वृद्धि हुन थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा २०.५३ प्रतिशत नेपाली नागरिकहरु सहभागी रहेका छन् । राष्ट्रिय जनगणना २०५८ को अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार रहेको छ । यीमध्ये ५९ लाख ८८ हजार नागििरक मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको हुन् । महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवदेनले यस्तो देखाएको हो । प्रतिवदेन अनुसार गत वर्षसम्म सहभागी ४५ लाख ७२ हजार ९८ मध्ये यो वर्ष २९ लाख ८६८ ले मात्र बीमा नविकरण गराएका छन् ।
यो वर्ष बीमा योजना कार्यक्रममा ९ अर्ब २ करोड १७ लाख रुपैयाँ प्रिमियम प्राप्त भएको छ । जुन गत वर्षभन्दा २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँले थप हो । गत वर्षसम्म बीमा योजना कार्यक्रममा ६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ प्रिमियम संकलन भएको थियो ।
तर, महालेखको प्रतिवेदन अनुसार स्वास्थ्य बीमा योजना कार्यक्रम अन्तर्गत प्रिमियमभन्दा धेरै दावी भुक्तानी भएको देखिएको छ । बीमितले स्वास्थ्य सेवा लिएको बिल भरपाईको आधारमा बोर्डले यस वर्ष ९ अर्ब ९२ करोड ७ लाख रुपैयाँ शोधभर्ना भुक्तानी दिएको छ । हालसम्म भने यस्तो भुक्तानी २४ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जुन हालसम्म बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा १५ अर्ब २९ करोड ५४ लाख बढी हो । योजनामा संकलित बीमा प्रिमियमभन्दा बढी दावी भुक्तानी भएकाले दिगो रुपमा स्वास्थ्य कार्यक्रम संचालन गर्न कठिनाई हुने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था छ। सरकारले सबै नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य लिएको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही अनुसार नै अझै प्रभावकारी रुपमा संचालन गर्न सरोकारवालाले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।













