१० श्रावण २०८३, आइतबार

मोटर बीमाले थेगेको निर्जीवन बीमा व्यवसायः प्रिमियममा सबैभन्दा धेरै योगदान, अन्य कुनको हिस्सा कति ?

मोटर बीमाले थेगेको निर्जीवन बीमा व्यवसायः प्रिमियममा सबैभन्दा धेरै योगदान, अन्य कुनको हिस्सा कति ?



काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई मोटर बीमाले साथ दिएको छ । निर्जीवन बीमा कम्पनीहरुले संकलन गर्ने कुल बीमा शुल्कको ३५.९६ प्रतिशत हिस्सा मोटर बीमाले नै ओगटेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कुल २५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यसमा मोटर बीमाको सबैभन्दा धेरै योगदान रहेको छ । फागुन महिनामा कम्पनीहरुले कुल १८ लाख ७६ हजार ४५३ बीमालेख बिक्री गरेका छन् । सो अवधिमा कुल बिक्री बीमालेखमध्ये ११ लाख ९५ हजार ३७७ मोटर बीमालेख नै छन् । मोटर बीमाबाट आठ महिनासम्ममा कम्पनीहरुले ८ अर्ब ५२ करोड ६७ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

मोटर बीमापछि निर्जीवन बीमा व्यसायलाई सम्पत्ति बीमाको योगदान धेरै छ । निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाले २२.७३ प्रतिशत हिस्सा ओगटेको छ । फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार सम्पत्ति बीमा मार्फत कुल ५ अर्ब ८८ करोड १५ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका भएका छ । चालु आवको आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ लाख २६ हजार ८१० वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा व्यवसायमा सबैभन्दा कम योगदान लघुबीमाको छ । लघुबीमाले ०.१९ प्रतिशत मात्रै योगदान दिएको छ । फागुन मसान्तसम्ममा लघुबीमा मार्फत कम्पनीहरुले ४ करोड ८६ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै, इन्जिनियरिङ्ग बीमाको योगदान १७.१० प्रतिशत छ । सो अवधिमा इन्जिनियरिङ्ग बीमाबाट ४ अर्ब ४२ करोड ५२ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुले यस्तो व्यवसायका लागि १८ हजार ८१३ वटा बीमालेख बिक्री गरेका छन् ।

त्यसैगरि विविध बीमाको १०.९४ प्रतिशत हिस्सा निर्जीवन बीमा व्यसायमा छ । यस्ता प्रकारका बीमाबाट फागुन मसान्तसम्ममा कम्पनीहरुले देशभरबाट २ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कृषि तथा पशुपन्क्षी बीमाको ५.६८ प्रतिशत, सामुन्द्रिक बीमाको ५.१४ प्रतिशत र हवाई बीमाको २.५३ प्रतिशत योगदान रहेको छ । फागुन मसान्तसम्ममा यी बीमा मार्फत क्रमशः १ अर्ब ४६ करोड ९६ लाख, १ अर्ब ३२ करोड ९९ लाख, १ अर्ब ३६ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रदेशत हिस्सामा बागमती अगाडि, कणार्लीमा न्यून उपस्थिति

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेश केन्द्रीत नै छन् । चालु आवको आठ महिनामा बागमती देशबाट १७ अर्ब ५ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले बागमती प्रदेशमा ८ लाख ५८ हजार १९ हजार रुपैयाँ बीमालेख बिक्री गरेका छन् । यस्तै, दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट भने २ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । लुम्बिनीमा कम्पनीहरुले २ लाख ९३ हजार ७४३ वटा बीमालेख बिक्री गरेका छन् ।

तर, कर्णाली प्रदेशमा भने कम्पनीहरुको न्युन उपस्थिति छ । सो प्रदेश मार्फत चालु आवको आठ महिनामा कम्पनीहरुले ३७ हजार ९३६ बीमालेख बिक्री गरि २८ करोड ९ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, कोशी प्रदेशबाट २ अर्ब २९ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो प्रदेशमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले कुल २ लाख ३२ हजार ८२६ बीमालेख बिक्री गरेका हुन् ।

यस्तै, मधेश प्रदेशबाट कम्पनीहरुले १ अर्ब ६४ करोड ७४ लाख, गण्डकीबाट १ अर्ब ४९ करोड र सुदुरपश्चिमबाट ६८ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी प्रदेशहरुमा कम्पनीहरुले क्रमशः १ लाख ६० हजार ९२२, १ लाख ९४ हजार ७०२ र ९७ हजार ३०५ वटा बीमालेख बिक्री गरेका छन् ।