कसले फुत्काउँला नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स ?
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि तीन वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
आइतबार अन्तिम समयसम्म थप दुई वटा कम्पनीले आवेदन पेश गरेका हुन् । बोर्डका लागि शुक्रबार नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्न्पूर्ण स्टक एक्सचेञ्ज कम्पनीले आवेदन पेश गरेका हुन् । यसअघि अर्थात गत शुक्रबार नै हिमालयन स्टक एक्सचेञ्जले आवेदन दिईसकेको छ ।
नयाँ स्टक संचालनको लाइसेन्सका लागि आवेदन दिएका हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जमा नेपाल तीन ठुला व्यापारिक घराना, दिपक भट्ट र गैरआवासीय नेपाल संघ लगायतहरुको लगानी छ ।
हिमालयन स्टकमा शंकर ग्रुप, दिपक भट्ट, पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छा, राजेन्द्र खेतान, सौरभ ज्योति लगायतको लगानी रहेको बताइएको छ ।
यस्तै, नेशनल स्टक एक्सचेञ्ज स्टकमा सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष कुमार पन्त, दिपक तिमिल्सिना, डा. उपेन्द्र महतो, जीवा लामिछाने, बद्री केसी र कुल आचार्यको लगानी गरेको बताएको छ ।
यता, अन्नपूर्ण स्टक एक्सचेञ्जको प्रमुख लगानीकर्तामा रामेश्वर थापा रहेको बताइएको छ । सो स्टकमा सुरेन्द्रा वाग्ले, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र गणेशकुमार श्रेष्ठ लगायतको लगानी रहेको बताइएको छ ।
बोर्डले गत चैत ३० गते नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरणका गर्न आवेदन माग गरेको थियो । बोर्डले १० दिनभित्र आवेदन आव्हान गरेको हो । अन्तिम दिनसम्म परेको आवेदन अनुसार नै एउटा कम्पनीले लाईसेन्स पाउनेछ । यद्यपि, कुन कम्पनीले अनुमति पाउँछन् भन्ने बोर्डको निर्णय पछि नै थाहा हुनेछ। तर, आवेदन दिएका तीन वटै शत्तिशाली घराना भएकाले कसले पाउँछ भन्ने सजिलै अनुमान पनि लगाउन सक्ने स्थिति छैन ।
बोर्डले गत असोज २ गते नै एउटा स्टक एक्सचेन्ज र दुई ओटा कमोडिटी एक्सचेन्जको लागि सूचना जारी गरी आवेदन माग गरेको थियो । तर, सर्वोच्च अदालतको तत्काल लाइसेन्स वितरण प्रक्रियामा अगाडि बढाउन रोक लगाएको थियो । तर, सर्वोच्च अदालतले लाइसेन्स सम्बन्धी रिट खारेज गरेपछि बोर्डले पुनः समय थपेर आवेदन माग गरी लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाएको थियो ।
कमोडिटी मार्केका लागि चार कम्पनीको आवेदन
यता, कमोडिटी मार्केटका लागि भने चार वटा कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार त्यसमा आइतबार नै मल्टी डेरिभेटीभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट डेरीभेटीभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडेटी डेरीभेटीभ एक्सचेन्ज लिमिटेड र नेपाल मल्टी डेरिभेटीभ स्टक एक्चेन्ज लिमिटेड रहेका छन् ।
बोर्डले २ कम्पनीलाई लाइसेन्स दिने गरि प्रस्ताव आह्वान गरेको थियो । अब बोर्डले यी कम्पनीहरु मध्ये नै दुई वटालाई लाईसेन्स दिनेछ ।













