१० श्रावण २०८३, आइतबार

मोटर र सम्पत्ति बीमाले ओगट्यो निर्जीवन बीमा व्यवसायको आधा हिस्सा, १७ लाख ५३ हजार पोलेसी बिक्री

मोटर र सम्पत्ति बीमाले ओगट्यो निर्जीवन बीमा व्यवसायको आधा हिस्सा, १७ लाख ५३ हजार पोलेसी बिक्री



काठमाडौं । निर्जीवन बीमा कम्पनीको कुल व्यवसायको आधा हिस्सा मोटर बीमा र सम्पत्ति बीमाले ओगटेका छन् । यी दुई बीमाले निर्जीवन बीमाको ५५.२० बजार हिस्सा ओगटेको हो ।

नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब १ करोड ४८ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले समिक्षा अवधिमा २१ लाख ६६ हजार ३२८ वटा बीमालेख बिक्री गरेको छन् ।

चैत मसान्तसम्मको गरेको कुल व्यवसायको ३२.९४ प्रतिशत मोटर बीमाको देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा मोटर बीमा मार्फत कम्पनीहरुले ९ अर्ब ८८ करोड ७६ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो अवधिमा मोटर बीमा व्यवसाय गर्ने निर्जीवन बीमा कम्पनीहरुले १३ लाख ८३ हजार ७१ बीमालेख बिक्री गरेका छन् ।

यस्तै, दोस्रो धेरै हिस्सा ओगटेको सम्पत्ति बीमा मार्फत ६ अर्ब ६ करोड १७ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सम्पत्ति बीमाले कुल निर्जीवन बीमाको २२.२६ प्रतिशत व्यवसाय ओगटेको छ । चैत मसान्तसम्ममा कुल ३ लाख ७० हजार ४७४ वटा बीमालेख बिक्री गरेका छन् ।

मोटर र सम्पत्ति बीमा मार्फत १६ अर्ब ५६ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । यी दुई बीमा व्यसाय गर्ने कम्पनीहरुले कुल १७ लाख ५३ हजार ४५४ बीमालेख बिक्री गरेका छन् ।

तेस्रो स्थानमा रहेको इन्जिनियरिङ बीमा मार्फत भने कुल ५ अर्ब २६ करोड २६ लाख ५१ हजार रुपैयाँ प्रिमिय उठेको छ । यो कुल निर्जीवन बीमा व्यवसायको १७.५३ प्रतिशत हिस्सा हो । ९ महिनामा इन्जिनियरिङ गर्ने कम्पनीहरुले २२ हजार ५७९ वटा बीमालेख बिक्री गरेका छन् ।

यस्तै, विविध बीमाको व्यवसायले निर्जीवन बीमाको १०.८६ प्रतिशत, कृषि तथा बालीले ६.०५ प्रतिशत, सामून्द्रिक बीमाले ५.१५ प्रतिशत, ह्वाई बीमाले २.५३ प्रतिशत र लघुबीमाले ०.१९ प्रतिशत व्यवासय ओगटेको छ ।

चालु आवको ९ महिनामा विविध बीमा अन्तर्गत ३ अर्ब २६ करोड १ लाख रुपैयाँ बीमा शुल्क प्रिमियम संकलन भएको छ । यस्तो बीमा अन्तर्गत कम्पनीहरुले १ लाख २२ हजार ७१७ वटा बीमालेख बिक्री गरेका छन्।

यस्तै, सामून्द्रिक बीमा मार्फत १ अर्ब ५४ करोड ४२ लाख ९३ हजार रुपैयाँ बीमा शुल्क उठेको छ । यस बीमा अन्तर्गत कम्पनीहरुले १ लाख २ हजार ८२ वटा बीमालेख बिक्री गरेका छन् ।

त्यसैगरि ह्वाई बीमा मार्फत ९८ वटा बीमालेख बिक्री गरि १ अर्ब ५० करोड ६४ लाख ९४ हजार रुपैयाँ र लघुबीमा अन्तर्गत ३० हजार २६४ बीमालेख बिक्री गरि ५ करोड ६७ लाख ९१ हजार रुपैयाँ रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

कुनको व्यवसाय हिस्सा कति ?