११ अर्बले घट्यो सुन आयात: दैनिक १० केजी आयातले बजारमा माग धान्नै मुस्किल, राजश्व पनि प्रभावित
काठमाडौं । सुन आयातमा भारी गिरावट आएको छ । सरकारले कोटा घटाएपछि नै नेपालमा सुन आयात घटेको हो ।
गत आर्थिक वर्ष २०७८/७९ को ९ महिना अर्थात चैत मसान्तसम्ममा २८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बढीको सुन आयात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने सुन आयात ११ अर्ब २६ करोड २२ लाख रुपैयाँले घटेको छ । चालु आवको चैत मसान्तसम्ममा १७ अर्ब २८ करोड ७ लाख रुपैयाँ बराबरको मात्रै सुन आयात भएको हो ।
भन्सार विभागका अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा यस वर्षको समिक्षा अवधिमा आईपुग्दा सुन आयात ३९.४७ प्रतिशतले कमी आएको हो । यस वर्षको ९ महिनासम्ममा २ हजार ३१६ केजी बढी सुन आयात भएको विभागले जनाएको छ । गत आवको समिक्षा अवधिमा भने ४ हजार ९४ केजी भन्दा धेरै सुन नेपाल भित्रिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अधिकारीका अनुसार सरकारले कोटा घटाएपछि नै सुन आयातमा कमी आएको जनाएको छ । महासंघका अधिकारीले भने,–‘विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले १० केजी मात्रै सुन आयात गर्न दिएको छ । सरकारले २० केजी आयात गर्ने ठाउँमा १० केजी कोटा तोकेपछि नै आयातमा गिरावट आएको हो ।’
अहिले बजारमा ३० केजीसम्म दैनिक माग हुने गरेको छ । दैनिक १० केजी सुन आयातले बजार माग धान्न नसक्ने महासंघले जनाएको छ । उपभोक्ताहरुको पुरानो सुनले १० प्रतिशत मात्रै बजार कभर गर्ने भएकाले माग धान्न मुस्किल नै रहेको व्यवसायीहरु बताउँछन् ।
नेपालमा टर्की, यूएई, स्वीटजरल्याण्ड लगायतका देशहरुबाट सुन आयात हुने गरेको छ । यी मलुुकहरुमध्ये सबैभन्दा धेरै सुन यूएईबाट नेपाल आउने गरेको छ । यूएईबाट चालु आवको ९ महिनामा १४ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ बराबरको १ हजार ९६६ केजी बढी सुन नेपाल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यद्यपि, गत आवको समिक्षा अवधिमा सो मुलुकबाट २२ अर्ब बढीको सुन आयात भएको थियो ।
यस्तै, चालु आवको ९ महिनामा टर्कीबाट १ अर्ब ८७ करोड ५३ लाख रुपैयाँ बराबरको २५० केजी बढी सुन आयात भएको छ । यता, स्वीट्जरल्याण्डबाट भने ७० करोड ९९ लाख रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ ।
सुन आयात घटेसंगै राजश्वमा पनि संकुचन आएको छ । एक वर्षको तथ्याङ्क अनुसार सुन आयातबाट सरकराले प्राप्त गर्ने राजश्व १ अर्ब ५१ करोड १२ लाख रुपैयाँ घटेको छ । चालु आवको ९ महिनामा सुन आयातबाट १ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । जुनु गत आवको समिक्षा अवधिको तुलनामा ४३.४२ प्रतिशतले कमी हो । गत आवको समिक्षा अवधिमा सुन आयातबाट सरकारले ३ अर्ब ४८ करोड ३ लाख रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।













