१९ श्रावण २०८३, मंगलबार

जलविद्युत् कम्पनीको भारिले थिचिँदै नेप्से, सरकारको अन्योलले बजार ओरालो



काठमाडौं । सरकार समीकरणमा देखिएका समस्या नसुल्झिएका कारण सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्न नसकेको देखिएको छ । यसै कारण आइतबार नेप्सेमा १९.११ अंक अर्थात् १.०१ प्रतिशतको गिरावट आयो । पछिल्लो पटक १९ सय ९२ अंकको नजिक पुगेर ओरालो लागेको नेप्से आइतबार १८ सय ६८ अंकसम्म झरेर १८७० अंकमा बन्द भएको हो ।

पछिल्ला १२ ब्यापार दिनमा मात्रै नेप्सेले ‘क्लोजिङ इन्डेक्स’ नै ९३ अंक गुमाइसकेको छ । यसअघिको नजिकको टेवालाई हेर्ने हो भने इन्ट्राडे ब्यापारमा १८३३ र ‘क्लोजिङ इन्डेक्स’मा १८३८ अंकसम्म झर्नसक्ने संभावना कायमै रहेको छ । यो स्तरमा झर्ने हो भने नेप्से अझै ३० अंकभन्दा धेरैको गिरावट सामना गर्न तयार हुनुपर्ने देखिन्छ ।

आइबारको गिरावटसँगै नेप्सेले केही दिन अघि देखाएको ९२ अंकभन्दा फराकिलो ‘बाउन्स ब्याक’लाई पुनः ‘सेटब्याक’मा फर्काएको छ । अव नेप्से परिसूचक उक्त उच्चतम बृद्धिभन्दा पहिलेकै अवस्थामा फर्किएको छ । मूलतः लघुवित्त कम्पनीहरु र केही सामुहिक लगानी कोषका एकाईको भाउ बढेका छन् । अन्यथा सबैजसो सेयर ओरालो लागेका छन् ।

नेप्सेमा आइतबार ९५ करोड ४३ लाखको शेयर किनबेच भएको छ । भाउ घटे पनि शिवम् सिमेण्टको सबैभन्दा धेरै कारोबार भएको छ । शिवमको शेयर सवा ४ करोडभन्दा धेरैको कारोबार भएको छ । त्यसपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, तारागाउँ रिजेन्सी होटेल, नबिल बैंक र ओरियण्टल होटेलको पनि बढी सेयर किनबेच भएको छ ।

नेप्सेमा सर्वाधिक गिरावटको सामना गर्नेमा जलविद्युत् उपसमूह सबैभन्दा अगाडी छ । उक्त उपसूचक १.८७ प्रतिशत घटेको छ । अधिकांश जलविद्युत् कम्पनीको सेयर सस्तिएपछि यस्तो अवस्था आएको हो । धेरैले हेक्का नराखेको पनि हुनसक्छ, अहिले नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै संख्या जलविद्युत् कम्पनीकै भइसकेको छ ।

नेप्सेमा सूचीकृत झण्डै एक तिहाई (करीब ३२ प्रतिशत) कम्पनी जलविद्युत् सम्बद्ध छन् । आइतबार सेयर बजारमा भाउ घट्ने कम्पनीहरुको सूची निकाल्ने हो भने ३५ प्रतिशतभन्दा धेरै कम्पनी जलविद्युत् क्षेत्रका छन् । आइतबार मूल्य सस्तिएका कुल १ सय ८९ सेयरमध्ये ६७ वटा जलविद्युत् कम्पनीका थिए ।

समूहगत सूचकमा कति कम्पनीका सेयर महँगिए, कतिका घटे ?