१० श्रावण २०८३, आइतबार

नेपाल लाइफको अविरल अग्रता: एलआईसी र नेशनलबीच टक्कर, व्यवसाय वृद्धिमा सूर्यज्योति, महालक्ष्मीसहित ६ कम्पनी एग्रेसिभ



काठमाडौं । जीवन बीमा कम्पनीहरुले ९ महिनामा १ खर्ब बढीको व्यवसाय गरेका छन् । संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले एक महिनामा नै थप ११ अर्ब ५९ लाख ७० हजार रुपैयाँ व्यवसाय गरेका छन् ।

गत फागुन महिनासम्ममा कम्पनीहरुले ९३ अर्ब ७२ करोड ५२ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क उठाएका थिए । तर, चैत मसान्तसम्म आईपुग्दा ११.७४ प्रतिशतले व्यवसाय बढाएका हुन् । चैत मसान्तसम्ममा कम्पनीहरुले १ करोड ४१ लाख ६५ हजार ९९८ वटा बीमालेख बिक्री गरेका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रता कायमै रहेको छ । चैत मसान्तसम्मको बीमा शुल्क संकलनको आधारमा एलआईसी नेपाल र नेशनल लाइफबीच प्रतिस्पर्धा देखिएको छ । यता, प्रतिशतका आधारमा व्यवसाय बढाउन महालक्ष्मी, रिलायवल लाइफ मेट लाइफसहित ६ वटा कम्पनी अघि देखिएका छन् । फागुन महिनाको तुलनामा सूर्यज्योति, एशियन लाइफ र आइएमई लाइफले पनि व्यापार बढाएका छन् ।

नेपाल लाइफको व्यवासायिक अविरल अग्रता कायमै, १० लाख बढी पोलेसी बिक्री

संचालनमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफको सबैभन्दा धेरै छ । चैत मसान्तसम्म आईपुग्दा कम्पनीले व्यवासायिक अग्रता कायमै राखेको छ । सो अवधिमा कम्पनीले २७ अर्ब २६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन मसान्तसम्मको तुलनामा ११.८२ प्रतिशतले बढी हो । चालु आवको फागुन मसान्तसम्ममा कम्पनीले २४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सो अवधिसम्म कम्पनीले १० लाख १० हजार ८३५ वटा बीमालेख बिक्री गरेको छ ।

व्यवसाय बढाउन एलआईसी नेपाल र नेशनल लाइफको टक्कर

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) र नेशनल लाइफबीच व्यवसाय बढाउन प्रतिस्पर्धा देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा एलआईसी नेपालले कुल १२ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन मसान्तसम्मको तुलनामा १२.५८ प्रतिशतले बढी हो । गत फागुनसम्ममा कम्पनीले ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सो अवधिमा कम्पनीले ६ लाख ८३ हजार ८३४ वटा बीमालेख सक्रिय देखिएको छ ।

यता, नेशनल लाइफले भने ९ महिनामा ११ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले एक महिनामै ११.२७ प्रतिशतले व्यवासय वृद्धि गरेको हो । गत फागुन मसान्तसम्ममा कम्पनीले कुल १० अर्ब २२ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चैत मसान्तसमममा कम्पनीले १५ लाख ९८ हजार ३७० वटा बीमालेख सक्रिय देखिएको छ ।

बीमा संस्थानलाई पच्छ्याउन सूर्यज्योति, युनियन र एशिन लाइफको तछाडमछाड

तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थानलाई व्यापारमा तीन वटा कम्पनीले पच्छ्याएका छन् । बीमा संस्थानले चालु आवको ९ महिनामा ७ अर्ब १० करोड २२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन मसान्तसम्मको तुलनामा ५.३९ प्रतिशतले बढी हो । गत फागुन मसान्तसम्ममा ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चैतसम्ममा कम्पनीको ५ लाख ६१ जहार १०१ वटा बीमाले सक्रिय छ ।

समिक्षा अवधिमा सूर्यज्योति लाइफले ९ महिनामा ६ अर्ब २० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन मसान्तसम्मको १३.१० प्रतिशतले बढी हो ।

यस्तै, यूनियन लाइफले पनि एक महिनामा ११.१५ प्रतिशतले व्यवासय वृद्धि गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा कुल ५ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यता, एशिन लाइफले पनि ९ महिनामा ५ अर्ब १९ करोड २२ लाख रुपैयाँबीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन महिनाको तुलनामा भने १३.११ प्रतिशत व्यापार बढाएको हो । युनियन र एशियन लाइफको चैत मसान्तसम्ममा क्रमश: १ लाख ५ हजार ९७९ र ६ लाख १८ हजार ३३७ वटा बीमालेख सक्रिय छन् ।

समिक्षा अवधिमा सिटिजन लाइफले १२.४५ प्रतिशतले व्यवसाय बढाएको छ । गत फागुन मसान्तसम्ममा कम्पनीले ३ अर्ब ५७ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, एक महिनामै बढाएर ४ अर्ब १ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ ।

९ महिनामा सात कम्पनीको व्यापार २ अर्ब माथि, दुई वटाको १ अर्ब माथिको बिजनेश

समिक्षा अवधिमा सात वटा कम्पनीको व्यापार २ अर्ब माथि देखिएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार मेट लाइफले चैत मसान्तसम्ममा ३ अर्ब ८७ करोड ६५ लाख बढी बीमा शुल्क आर्जन गरेको छ । जुन गत फागुन महिनाको तुलनामा १४.३४ प्रतिशतले बढी हो ।

यस्तै सानिमा रिलायन्सको पनि ३ अर्ब ८२ करोड ४३ लाख, प्राइम लाइफले ३ अर्ब ३४ करोड १५ लाख रुपैयाँ बढी बीमा शुल्क उठाएका छन् । यी दुवै कम्पनीहरुले गत फागुन मसान्तसम्मको तुलनामा भने क्रमश: २.५२ प्रतिशत र १२.६८ प्रतिशतले व्यापार बढाएका हुन् ।

यस्तै, आइएमई लाइफले ९ महिनामा २ अर्ब ९८ करोड ६७ लाख, सन नेपाल लाइफले २ अर्ब ८७ करोड ५७ लाख, रिलायबल नेपालले २ अर्ब ७४ करोड १३ लाख र गुराँस लाइफले २ अर्ब २४ करोड २८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

यता, प्रभु लाइफ इन्स्योरेन्सले भने चैत मसान्तसम्ममा १ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । गत फागुन मसान्तसम्मको तुलनामा यी दुई कम्पनीले क्रमश: ११.०४ प्रतिशत र १६.५० प्रतिशतले व्यापार बढाएका हुन् ।

कुन कम्पनीको बिजनेश कति ?