नेपाली बीमा बजारः व्यवसायको वृद्धिदर एकल अंकमा, कर्जा प्रवाह संकुचन हुदाँ व्यापार प्रभावित
काठमाडौंं । गत आर्थिक बर्षहरुमा उच्च दरमा बढ्दै गएको बीमा व्यवसायमा यसपाली भने अलि निराशा देखिएको छ ।
अघिल्ला आवहरुमा बीमा व्यवसायको वृद्धिदर दोहोरो अंकमा थियो । तर, चालु आव २०७९/८० मा भने बीमा व्यवसायको वृद्धिदर खुम्चीएर एकल अंकमा आएको छ । त्यसमा पनि नयाँ व्यवसायमा त गिरावट नै देखिएको छ ।
चालु आवको चैत मसान्तसम कुल बीमा व्यवसाय २ प्रतिशतले मात्रै बढेको छ । गत आवको यसै अवधीमा कुल बीमा व्यवसाय १२.२९ प्रतिशतले बढेको थियो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैत मसान्तसम्म जीवन र निर्जीवन बीमाको गरेर कुल १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । गत आवको सोही अवधीमा १ खर्ब ३१ अर्ब २४ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । त्योअनुसार गत आवको तुलनामा ३ अर्ब ५० करोड ८५ लाख रुपैयाँ मात्रै बढी शुल्क उठेको छ ।
जीवन बीमा २.१४ प्रतिशतले बढ्यो, नयाँ व्यवसायमा छैन रौनक
समिक्षा अवधीमा जीवन बीमा व्यवसाय २.१४ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्म जीवन बीमामा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । चालु आवको समिक्षा अवधीमा भने त्यो १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
बीमा प्राधीकरणको तथ्याङ्क अनुसार चालु आवको ९ महिनामा जीवन बीमालेखको संख्या भने २०.१४ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा १ करोड ४१ लाख ६५ हजार ९९८ वटा बीमालेख बिक्री गरेको छ । तर, गत आवको चैत मसान्तसम्ममा भने १ करोड १७ लाख ९१ हजार ६९८ वटा जीवन बीमालेख बिक्री भएको थियो ।
समिक्षा अवधीमा जीवन बीमाको कुल व्यवसाय मात्रै बढेको छ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा त ह्रास नै आएको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको नयाँ व्यवासाय झण्डै २८ प्रतिशतले घटेको छ । गत आवको चैतसम्म जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २९ अर्ब १ करोड ७ लाख रुपैयाँ थियो । तर, यसपाली त्यो घटेर २१ अर्ब ५२ लाख रुपैयाँमा सिमित भएको छ । बीमा पोलिसी नवीकरण पनि सोचे जस्तो नभएको कम्पनीहरुको भनाइ छ । पोलिसी नविकरण गर्नुको सट्टा सरेन्डर गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको कम्पनीहरु बताउछन् ।
४.५८ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय, ३० अर्ब बढीको व्यापार
यस्तै, निर्जीवन बीमा व्यवसाय ४.५८ प्रतिशतले मात्रै बढेको छ । गत आवको समिक्षा अवधीमा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
यसपाली उनीहरुले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । समिक्षा अवधिमा निर्जीवन बीमालेखको संख्यामा भने सामान्य गिरावट देखिएको छ । गत आवको चैत मसान्तसम्ममा २१ लाख ७५ हजार ४१४ वटा निर्जीवन बीमालेख बिक्री भएको थियो । तर, यस वषको समिक्षा अवधिमा २१ लाख ६६ हजार ३२८ वटामा कायम भएको छ ।
कर्जा प्रवाह संकुचन हुदाँ बीमा व्यवसाय पनि प्रभावित
बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण पनि बीमा व्यवसायमा यस्तो अवस्था सृजना आएको हो । अहिले आर्थिक संकटका कारण आम मानिसहरुको बीमा पोलिसी खरिद गर्ने क्षमता घटेको छ । उल्टै आफ्नो आर्थिक अभाव पुर्ति गर्न पोलिसी सरेन्डर गर्नेको संख्या बढ्दै छ । यी यस्ता कारण व्यवसायमा खास रौनक नदेखिएको जानकारवालाहरु बताउछन् ।
बैंक मार्फत हुने बीमा व्यवसायको नविकरण पनि १५ प्रतिशत भन्दा बढीले घटेको छ । बैंकबाट कर्जा लिएपछि सम्बन्धीत ऋणीले आफ्नो जीवन बीमा गर्नुपर्ने प्रावधान पनि छ । साथै, बैंकबाट कर्जा लिएर गरिने व्यवसाय तथा परियोजनाको पनि बीमा गर्नुपर्छ । त्यसले बीमा व्यवसाय बढाउन राम्रो सहयोग पुग्दथ्यो । तर, पछिल्लो समय तरलता अभावका कारण कर्जा प्रवाह संकुचन हुदाँ बीमा व्यवसाय पनि प्रभावित भएको कम्पनीहरु बताउछन् ।













