हिमालयन एभरेष्टको सकरात्मक प्रगतिः खुद नाफा र प्रिमियम पनि बढ्यो, राम्रो प्रतिफल दिन सक्ने अपेक्षा
काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको खुद नाफा वृद्धि भएको छ । कम्पनीले ९ महिनामा २३ करोड बढी खुद नाफा आर्जन गरेको हो ।
कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार चालु आवको चैत मसान्तसम्ममा कम्पनीले २३ करोड ७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने ६.६१ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २६ प्रतिशतले वृद्धि भई ८९ करोड ५ लाख रुपैयाँ पुगको छ ।
सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशन मार्फत २० करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, अभिकर्ता कमिशनका लागि ४ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन भने २ अर्ब २९ करोड ४७ लाख ६० हजार रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल जारी बीमालेखको संख्या १ लाख ६२ हजार १७४, नविकरण गरिएको बीमालेख २१ हजार १५६ रहेको छ । समिक्षा अवधिमा कम्पनीले ९६ करोड ८६ लाख ३३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको हो । यो संख्यामा भने ८ हजार ३८५ वटा (पटक) रहेको छ ।
भुक्तानी हुन् बाँकी दावी रकम भने १ अर्ब ७० करोड ९६ लाख २८ हजार रुपैयाँ देखिएको छ । यसमा कोभिड समेत जोडिएको छ । भुक्तानी हुन् बाँकी दावी संख्या कोभिडको मात्रै ५ हजार ८३२ समेत गरि कुल १० हजार ४२५ वटा देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३७ हजार रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८७ करोड ५१ लाख १९ हजार रुपैयाँ राखेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ३१ करोड ४६ लाख रुपैयाँ अर्थात ५६.१२ प्रतिशतले बढी हो ।
कम्पनीको बीमा कोषको आकार १ अर्ब २० करोड ९८ लाख २२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा रहेको छ ।
लगानीबाट हुने आय तथा प्रिमियम आम्दानी सन्तोषजन रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुकलाई स्तरीय बीमा सेवा प्रदान गर्दै आईरहेको छ । सोही अनुसार नै शाखा वृद्धि पनि भईरहेको छ । बजार विस्तारलाई त्रिवता दिई व्यवासय विविधिकरण गर्दै जाने रणनीति कम्पनीले लिएको छ । समिक्षा अवधिमा भएको व्यवसाय तथा लगानीबाट हुने आयलाई दृष्टिगत गर्दा कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिन सक्ने अपेक्षा पनि राखेको छ ।
बीमा बजारमा बढ्दो प्रतिस्पर्धा, मुद्रा स्फितिको कारण संचालन खर्चमा वृद्धि र बीमा सम्वन्धी जनचेतनाको कमी जस्ता आन्तरिक समस्याहरु छन् । अस्थिर आर्थिक तथा राजनीतिक वातावरणले व्यवसायमा पनि प्रभाव पारिरकेको छ । प्राकृतिक प्रकोप, महामारी लगायतका कारण पनि व्यवसाय प्रभाव पार्न सक्ने बाह्य समस्या चुनौति रहेका छन् । तर, यस्ता समस्या र चुनौतिलाई हिमालयन एभरेष्टले छुट्टै रणनीति अपनाएर अघि बढ्ने जनाएको छ ।
जनशक्तिलाई प्रभावकारी गर्नको लागि निरन्तर रुपमा तालिम तथा उचित प्रोत्सहान गर्ने नीति अवलम्वन गर्ने र ग्राहक सन्तुष्टिलाई केन्द्र विन्दु मानेर सेवा प्रदान गर्न सदैव प्रयत्नसील रहेको कम्पनीले जनाएको छ ।













