खस्कियो शिवम् सिमेन्ट वित्तीय अवस्था: बिक्री आम्दानीसंगै मुनाफामा गिरावट, इपिएस पनि घट्यो
काठमाडौं । शिवम् सिमेन्टको नाफामा ३३ करोड ४९ लाख रुपैयाँको गिरावट आएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन, गत आवको समिक्षा अवधिको तुलनामा ५१.१५ प्रतिशतले कमी हो ।
कम्पनीको बिक्री आम्दानीमा गिरावट आएसंगै नाफा घटेको हो । चालु आवको ९ महिनामा कम्पनीको बिक्री आम्दानी २४.७५ प्रतिशत घटेको छ । योसंगै समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । तर, गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी ७ अर्ब २५ करोड ३३ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले अन्य जगेठा तथा कोषमा भने ३ अर्ब ७३ करोड ५८ लाख ४३ हजार रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । गत आवको चैत मसान्तसम्ममा १९ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको यस्तो आम्दानी यस वर्षको समिक्षा अवधिमामा १० रुपैयाँ १५ पैसाले घटेको हो । योसंगै हाल कम्पनीको इपिएस ९ रुपैयाँ ६९ पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा रहेको छ ।













