तारागाँउ रिजेन्सी होटल्सले गर्यो साढे ९० करोडको व्यापार, ५.७६ गुणाले बढायो नाफा
काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । होटल्सले चालु आर्थिक वर्षको ९ महिनामा साढे १९ करोड बढी रुपैयाँले नाफा बढाएको छ ।
कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले २३ करोड ८८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आवको समिक्षा अवधिका तुलनामा भने ४७६.५१ प्रतिशत अर्थात ५.७६ गुणाले बढी हो । तर, गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड १४ लाख २९ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो । पछिल्लो समय पर्यटन गतिविधि र आर्थिक क्रियाकलाप वृद्धिसंगै होटेल्सको नाफा बढेको हो ।
समिक्षा अवधिमा कम्पनीले ९० करोड ६१ लाख ७६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन, गत आवको समिक्षा अवधिको तुलनामा भने ४८ करोड ७८ लाख बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४१ करोड ८२ लाख ९५ हजार रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
सो अवधिमा कम्पनीको अन्य आम्दानी पनि बढेर १० करोड ९३ लाख ७० हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी भने १ अर्ब १ करोड ५५ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
होटेल्सको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५ हजार रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा भने ५१ करोड ३९ लाख ४० हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६९ पैसा छ ।
होटल्सले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा सुविधाहरु उपलब्ध गराई आम्दानीलाई उल्लेख्य सुधार गर्ने र खर्चहरुमा मितव्ययीता अपनाई कटौती तथा नियन्त्रण गरि नाफामा सुधार गर्ने प्रयास जारी रहेको बताएको छ । बढ्दो व्यवसायिक प्रतिष्पर्धालाई मध्यनजर गर्दै आम्दानीका अन्य स्रोतहरुको पहिचान गरी सोमा लगानी गर्ने प्रयोजनार्थ विभिन्न परियोजनाको सम्भाव्यता अध्ययनको गरिरहेको कम्पनीको भनाई छ ।
सम्भाव्यता अध्ययन पश्चात् लागत र प्रतिफलको विश्लेषण गरी सेयरधनीहरुको उच्चतम हितमा हुने परियोजना शुरु गरिने कार्यनीति बनाएको छ । स्वदेशी तथा विदेशी ग्राहकहरुलाई लक्षित गरि विभिन्न योजना तथा कार्यक्रमहरु संचालन गरि विक्री तथा नाफामा उल्लेख्य सुधार ल्याउने र सेयरधनीलाई जति सक्दो छिटो बढी भन्दा वढी प्रतिफल वितरण गर्ने लक्ष्य रहेको होटेल्सले जनाएको छ ।
देशको आर्थिक विकासको लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेकोले पर्यटन क्षेत्रको विकास मार्फत विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने र विश्वसामु नेपाली कला संस्कृतिको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप नाफामुलक व्यवसायको रुपमा हजारौं स्वदेशी तथा विदेशी लगानीकर्ताहरुद्वारा संस्थापित होटेल्स हो ।
होटेल्सले पर्यटन क्षेत्रमा हालसम्म पाँचौ पटक सबै भन्दा बढी आयकर तिरी बुझाई राजश्व संकलन मार्फत समग्र देश विकासको निमित्त महत्वपूर्ण भूमिका निर्वाह गरी सम्मानित पनि भएको छ ।













