जीवन बीमा कम्पनीकाे नाफा: सूर्यज्योतिले कमायो धेरै, नाफा बढाउन एलआईसी अगाडि, कुनकाे कती ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद नाफा डेढ अर्बले बढेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १ अर्ब ६३ करोड ८७ लाख रुपैयाँले बढेर ३ अर्ब ७३ करोड ६३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ७८.१२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले कुल २ अर्ब ९ करोड ७५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
चालु आवको ९ महिनामा राष्ट्रिय बीमा संस्थान बाहेकका कम्पनीहरुको नाफा बढेको छ । नाफा वृद्धिमा एलआईसी नेपाल पहिलो नम्बरमा छ । सूर्यज्योति लाइफ भने सबैभन्दा धेरे नाफा कमाउने कम्पनी बनेको छ ।
एलआईसीले बढायो सबैभन्दा धेरै नाफा
संचालनमा रहेका जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नाफा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले बढाएको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा झण्डै १४ गुणा अर्थात १२९४ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्ममा ६० लाख रुपैयाँ मात्रै नाफा कमाएको सो कम्पनीले यस वर्षको सोही अवधिसम्म आईपुग्दा भने ८ करोड ३७ लाख रुपैयाँ कमाएको छ ।
सूर्यज्योति बन्यो सबैभन्दा धेरै नाफा कमाउने कम्पनी
सूर्यज्योति लाइफले सबैभन्दा धेरै नाफा कमाएको छ । अन्य जीवन बीमा कम्पनीको तुलनामा कम्पनीले धेरै नाफा कमाएको हो । चालु आवको ९ महिनामा कम्पनीले ५३ करोड ७६ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ५०.५२ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा भने कम्पनीको खुद नाफा ३५ करोड ७२ लाख रुपैयाँ रहेको थियो । साविकको सुर्या लाइफ र ज्योति लाइफ एक आपसमा मर्ज भएका कम्पनी हुन् । मर्जपछि बनेको सूर्यज्योति व्यवासायिक रुपमा आक्रमक बन्दै गएको छ । कम्पनीका अन्य सुचकहरु पनि सबल बन्दै गएका छन् । यी दुवै कम्पनीले गत पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हुन् ।
नेपाल लाइफको नाफा धनात्मक
गत आवको नोक्सानी व्यहोरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष भने उल्लेख्य सुधार गरेको छ । चालु आवको ९ महिनामा कम्पनीले ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, अन्य सूचकहरुमा अब्बल मानिएको कम्पनी गत आवको चैत मसान्तसम्मा भने १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । चुक्ता पुँजी, खुद बीमा शुल्क आर्जन लगायत सूचकहरुमा कम्पनी पहिलो स्थानमा छ ।
मर्जपछि बनेको हिमालयन लाइफको नाफा ५० करोड माथि
हालै तीन वटा जीवन बीमा कम्पनी एक आपसमा गाभिएर बनेको हिमालयन लाइफको नाफा ५० करोड रुपैयाँ माथि छ ।
साविकको गुराँस लाइफ, युनियन र प्राइम लाइफ मिलेर बनेको कम्पनीले चालु आवको ९ महिनामा ५० करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आवको समिक्षा अवधिको तुलनामा ४३.७४ प्रतिशतले बढी हो ।
गत आवको चैत मसान्तसम्ममा कम्पनीले ३४ करोड ८४ लाख २१ हजार रुपैयाँ नाफा कमाएका थिए । साविकको युनियन लाइफले नाफामा उल्लेख्य वृद्धि गरेको छ । गत आवको तुलनामा ३७५.१४ प्रतिशतले नाफा बढाएर १२ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ । यता, साविकको गुराँस लाइफले १६ करोड १२ लाख र प्राइम लइफ २१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
सन नेपाल लाइफको नाफामा फड्को
नाफा वृद्धिमा सन नेपाल लाइफले पनि फड्को मारेको छ । गत आवको तुलनामा २०९.४८ प्रतिशतले बढाएको छ । योसंगै चालु आवको ९ महिनामा कम्पनीले ४४ करोड ४५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको सोही अवधिमा भने १४ करोड ३६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
राष्ट्रिय बीमा संस्थानको मात्रै नाफामा गिरावट
संचालनमा रहेका जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानको मात्रै नाफामा गिरावट आएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा यस वर्ष कम्पनीको नाफा ७३.७५ प्रतिशतले घटेको छ । चालु आवको ९ महिनामा कम्पनीले १ करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको हो । तर, गत आवको सोही अवधिमा भने ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अन्य कुनको कति ?
चालु आवको ९ महिनामा रिलायवल नेपालको खुद नाफा ३५.६४ प्रतिशतले बढेर २८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा एशियन लाइफले १९ करोड ४७ लाख, आइएमई लाइफको १८ करोड २४ लाख, सिटिजन लाइफले १५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यस्तै, प्रभु लाइफको नाफा ३०.६४ प्रतिशतले बढेर १३ करोड २३ लाख ९१ हजार रुपैयाँ, मेट लाइफको २३.४० प्रतिशत र महालक्ष्मी लाइफको नाफा १४.९३ प्रशितले वृद्धि भएको छ ।













