निर्जीवन बीमा बजार: २१.६४ प्रतिशतले बढ्यो नाफा, ९ अर्ब ५७ करोडको व्यापार, कुनको प्रगति कस्तो ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा वृद्धि भएको छ । ९ महिनामा कम्पनीहरुले साढे ३ अर्ब बढी नाफा कमाएका छन् ।
संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको चैत मसान्तसम्ममा कम्पनीहरुले ३ अर्ब ५३ करोड ३४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन, गत आवको चैत मसान्तसम्मको तुलनामा २१.६४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीहरुले २ अर्ब ९० करोड ४७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
चालु आवको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५७ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुको खुद बीमा शुल्क आर्जन गत आवको तुलनामा ७.४० प्रतिशतले वृद्धि भएको हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीहरुले ८ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
शतप्रतिशत बढ्यो राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसीको नाफा
चालु आवको चैत मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसी इन्स्योरेन्सको नाफा शतप्रतिशत वृद्धि भएको छ ।
समिक्षा अवधिमा सानिमा जिआईसीको नाफा १०३ प्रतिशतले बढेको छ ।
९ महिनामा कम्पनीले २१ करोड ३२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको समिक्षा अवधिमा भने कम्पनीले १० करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस्तै, राष्ट्रिय बीमा कम्पनीले पनि ९ महिनामा ३४ करोड ३७ लाख रुपैयाँले खुद नाफा बढाएको छ । गत आवको चैत मसान्तमा ३४ करोड २६ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवको तुलनामा यस वर्ष १०० प्रतिशतले बढाएर ६८ करोड ६४ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
शिखरसहित तीन कम्पनीको नाफा घट्यो
शिखर इन्स्योरेन्स सहित तीन कम्पनीको खुद नाफामा भने गिरावट देखिएको छ । शिखरले गत आवको तेस्रो त्रैमासमा ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । तर, यसवर्षको सोही अवधिमा आईपुग्दा भने ६.५१ प्रतिशतले घटेर ३४ करोड ३१ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । यद्यििप, शिखर सबैभन्दा धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पीको दोस्रो स्थानमा छ ।
यस्तै, साविकको प्रुडेन्सियल इन्स्योरेन्को नाफा पनि ११.६५ प्रतिशतले घटेर १० करोड ३ लाख ९० हजार रुपैयाँ कायम भएको छ । यता, नेको इन्स्योरेन्सको नाफामा सामान्य अर्थात ०.२२ प्रतिशतले घटेको छ । यद्यपि, सबैभन्दा धेरै नाफा कमाउनेको तेस्रो स्थानमा नेको इन्स्योरेन्स छ ।
उच्च दरमा बढ्यो नेपाल इन्स्योरेन्स र युनाईटेडको नाफा
समिक्षा अवधिमा नेपाल इन्स्योरेन्सको नाफा ५९.६५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस वर्षको ९ महिनाको अवधिमा २८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । यता, युनाईटेड इन्स्योरेन्सको नाफामा पनि ४७.११ प्रतिशतले बढोत्तरी देखिएको छ । ९ महिनामा कम्पनीले १५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेको, शिखर र सगरमाथा लुम्बिनीले गरे धेरै व्यवसाय
चालु आवको ९ महिनामा तीन कम्पनीले सबैभन्दा धेरै व्यवसाय गराएका छन् । चैत मसान्तसम्ममा नेको इन्स्योरेन्स, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बीमा शुल्क आर्जन सबैभन्दा धेरै छ ।
नेकोले ९ महिनामा १ अर्ब ३१ करोड ९२ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । यद्यपि, गत आवको चैत मसान्तसम्मको तुलनामा भने ४.१५ प्रतिशतले कमी हो ।
समिक्षा अवधिमा शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन ९.२९ प्रतिशतले वृद्धि भई १ अर्ब २३ करोड ६१ लाख ५० हजार रुपैयाँ पुगेको छ । यता, सगरमाथा लुम्बिनीले पनि १ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यद्यपि, गत आवको ९ महिनाको तुलनामा ५.५९ प्रतिशतले कमी हो ।
व्यवासय वृद्धिमा हिमालयन एभरेष्ट, एनएलजी र राष्ट्रि बीमा कम्पनीको टक्कर
अधिकांश कम्पनीहरुको व्यवसाय सामान्य बढोत्तरी देखिएको छ । तर, व्यवसाय वृद्धिमा हिमालयन एभरेष्ट, एनएलजी र राष्ट्रिय बीमा कम्पनीको टक्कर परेको छ । यी कम्पनीहरुको बीमा शुल्क आर्जन १६ प्रतिशतको हाराहारीमा वृद्धि गरेका छन् ।
गत आवको चैत मसान्तसम्ममा ७० करोड ६६ लाख बढी बीमा शुल्क आर्जन गरेको हिमालय एभरेष्टले यस वर्षको सोही अवधिमा भने २६ प्रतिशतले बढाएको छ । योसंगै कम्पनीको खुद बीमा शुल्क आर्जन ८९ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले पनि खुद बीमा शुल्क आर्जन २६.१८ प्रतिशतले बढाएर ७० करोड ३९ लाख रुपैयाँ पुर्याएको छ । यता, राष्ट्रिय बीमा कम्पनीले भने २६.४९ प्रतिशतले खुद बीमा शुल्क वृद्धि भएको छ । कम्पनीले चालु ९ महिनामा कम्पनीले ३१ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
अन्य कुनको कति ?














