जीवन बीमा कम्पनीले दिए बीमितलाई ७९ अर्ब ६७ करोड ऋण, बीमालेख धितो कर्जाबाट हुने आम्दानी बढ्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले ९ महिनामा बीमालेख धितोमा साढे ७९ अर्ब बढी कर्जा लगानी गरेका छन् ।
संचालनमा रहेका जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको चैत मसान्तसम्ममा कम्पनीहरुले ७९ अर्ब ६७ करोड ८१ लाख रुपैयाँ बीमालेख धितो कर्जा लगानी गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा ३१.६५ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा कम्पनीहरुले कुल ६० अर्ब ५२ करोड ७ लाख रुपैयाँ बीमालेख धितो राखी कर्जा लगानी गरेका थिए । जीवन बीमा कम्पनीहरुबाट बीमितले बीमालेख धितो राखी सम्वन्धित कम्पनीबाट कर्जा लिन पाइने व्यवस्था रहेको छ । बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ । जीवन बीमा लेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा सुरु भएको तीन वर्ष पूरा पुगेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।
बीमालेख धितो कर्जा लगानीबाट कम्पनीहरुले गर्ने आम्दानी पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ४ अर्ब १२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेका थिए । तर, यस वर्षको सोही अवधिमा भने कम्पनीहरुले बीमालेख धितो कर्जाबाट हुने आम्दानी ७.७२ प्रतिशतले बढाएका छन् । चालु आवको ९ महिनामा कम्पनीहरुको यस्तो आम्दानी ४ अर्ब ४४ करोड २५ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
नेपाल लाइफका बीमितले लिए सबैभन्दा धेरै कर्जा, आम्दानी भने घट्यो
नेपाल लाइफका बीमितले आफ्नो बीमालेख धितो राखी सबैभन्दा धेरै ऋण लिएका छन् । चालु आवको ९ महिनामा कम्पनीले बीमालेख धितो राखेर २९ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ बढी ऋण बीमितलाई दिएको छ ।
कम्पनीको यस्तो ऋण लगानी गत आवको चैत मसान्तसम्मको तुलनामा भने २७.२९ प्रतिशतले बढी हो । तर, कम्पनीको यस्तो कर्जा लगानीबाट हुने आम्दानीमा भने गिरावट आएको छ । गत आवको चैत मसान्तसम्ममा १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस वर्ष भने २०.९१ प्रतिशतले घटेको छ ।
एलआईसीले दियो बीमालेख धितो राखी बीमितलाई साढे २१ अर्ब ऋण
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्ना बीमितलाई २१ अर्ब ४९ करोड २२ लाख रुपैयाँ ऋण लगानी गरेको छ । कम्पनीको बीमालेख धितो कर्जा लगानी २५.८६ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको चैत मसान्तसम्ममा भने कम्पनीले १७ अर्ब ७ करोड ६२ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । समिक्षा अवधिमा बीमालेख धितो कर्जा लगानीबाट भने कम्पनीको आम्दानी भने ४३.३८ प्रतिशतले वृद्धि भएको छ । ९ महिनामा कम्पनीको यस्तो आम्दानी १ अर्ब ७० करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आवको चैत मसान्तसम्ममा भने कम्पनीको यस्तो आम्दानी १ अर्ब १९ करोड १८ लाख रुपैयाँ मात्रै थियो ।
बीमालेख धितो मार्फत नेशनलको १० अर्ब ऋण लगानी, आम्दानीमा गिरावट
बीमालेख धितो राखेर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब ऋण लगानी गरेको छ । कम्पनीले ९ महिनामा आफ्ना बीमितलाई बीमालेख धितो मार्फत १० अर्ब ५ करोड ३६ लाख ८३ हजार रुयैयाँ कर्जा लगानी गरेको हो । जुन गत आवको समिक्षा अवधिको तुलनामा ३३.९४ प्रतिशतले बढी हो । तर, बीमालेख धितो कर्जा लगानीबाट हुने आम्दानीमा भने गिरावट देखिएको छ । गत आवको चैत मसान्तसम्ममा ४४ करोड ४१ लाख रुपैयाँ बढी आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने १०.७० प्रतिशतको गिरावट देखिएको छ । चालु आवको ९ महिनामा कम्पनीको यस्तो आम्दानी ३९ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
सानिमा रिलायन्सले बीमालेख धितो कर्जा लगानी उल्लेख्य बढायो
सानिमा रिलायन्स लाइफको बीमालेख धितो कर्जा उल्लेख्य वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीले ९९ करोड ३२ लाख बढी बीमालेख धितो कर्जा दिएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ४८१ .३७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो लगानी १७ करोड ८ लाख रुपैयाँ मात्रै थियो । सो अवधिमा कम्पनीले बीमालेख धितो कर्जाबाट हुने आम्दानी पनि १६६.१७ प्रतिशतले बढाएर ७१ लाख रुपैयाँ पुर्याएको छ ।
६ कम्पनीको बीमालेख धितो कर्जा लगानी १ अर्ब माथि, आम्दानी पनि बढ्यो
६ वटा जीवन बीमा कम्पनीको बीमालेख धितो कर्जा लगानी १ अर्ब माथि छ । समिक्षा अवधिमा एशियन लाइफको यस्तो ऋण लगानी ४ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा २९.४४ प्रतिशतले बढी हो । यस्तो ऋण लगानीबाट आम्दानी पनि ५८ प्रतिशतले बढेर २६ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
यस्तै, सूर्यज्योति लाइफले पनि ९ महिनामा आफ्न बीमितहरुलाई बीमालेख धितो मार्फत ३ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ ऋण दिएको छ । सो कर्जा लगानीबाट कम्पनीले १३ करोड २ लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।
त्यसैगरि साविकको प्राइम लाइफले २ अर्ब ६९ करोड ५९ लाख, गुराँसले १ अर्ब ४७ करोड ८० लाख र युनियन लाइफले १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ आफ्ना बीमितले बीमालेख धितो कर्जा दिएको छ । यी कम्पनीहरुले बीमालेख धिर्ता कर्जा लगानीबाट भने क्रमश: १५ करोड ४६ लाख, १० करोड ३७ लाख र ८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेका छन् । यस्तै, मेट लाइफले पनि १ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बीमालेख धितो कर्जा दिएको छ । कम्पनीको यस्तो कर्जा लगानीबाट हुने आम्दानी भने १२ करोड २१ लाख रुपैयाँ बढी छ ।
यता, प्रभु लाइफले ५८ करोड २१ लाख, आइएमई लाइफले ५६ करोड ५८ लाख, सिटिजनले ४८ करोड १७ लाख, सन नेपाल लाइफले ४५ करोड ८८ लाख र रिलायवल नेपालले २६ करोड ५४ लाख रुपैयाँ बीमालेख धितो राखी आफ्ना बीमितलाई कर्जा दिएको छ ।













