१० श्रावण २०८३, आइतबार

प्रिमियममा आईपीओ ल्याउँदै गरेका चार जीवन बीमा कम्पनीकाे सुचकहरू दाँजेर हेर्दा, कुन तगडा ?



काठमाडौं । हाल चार वटा जीवन बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् ।

रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई र सन नेपाल लाइफ कम्पनी प्रिमियममा आईपीओ निष्कासन गर्न लागेको हुन् । यी कम्पनीहरुले प्रिमियममा आइपीओ निष्कासनका अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् ।

रिलायवल नेपाल लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ निष्कासन गर्ने भएको हो । २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

यस्तै, सिटिजन लाइफले पनि प्रतिकित्ता १०० रुपैयाँमा थप १९० रुपैयाँ प्रिमियम २९० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

त्यसैगरि आइएमई लाइफले १०० सय रुपैयाँ अंकित मूल्यमा १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीको आइपीओ निष्कास तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

यता, सन नेपाल लाइफले भने १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा प्रिमियमसहित प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको यी चार वटा जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था कस्तो छ ? कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणहरुको आधारमा मुख्य सूचकहरुलाई दाँजेर उल्लेख गरिएको छ ।

रिलायवल नेपाल र आइएमई लाइफको चुक्ता पुँजी बराबरी
चुक्ता पुँजीको आधारमा रिलायवल नेपाल लाइफ र आइएमई लाइफ बराबरीमा छन् । यी दुवै कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रहेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा रिलायवल र आइएमईको चुक्ता पुँजी दोब्बर वृद्धि भएको हो ।

यस्तै सिटिजन लाइफको भने २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ छ । यता, सन नेपाल लाइफको भने २ अर्ब २४ करोड रुपैयाँ छ । यी दुवै कम्पनीको चुक्ता पुँजी गत आवको चैत मसान्तसम्मको तुलनामा भने क्रमश: ५० प्रतिशत र ६० प्रतिशतले वृद्धि भएको हो ।

जगेडा कोषमा रिलायवल नेपाल बलियो, सन नेपालको १ अर्ब तल
जगेडा कोषका आधारमा भने रिलायव नेपाल लाइफ बलियो देखिएको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३४ करोड ८० ललाख ८४ हजार रुपैइाँ राखेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ३०.४९ प्रतिशतले बढी हो । सिटिजन लाइफको जगेडा कोषमा भने ५४.१७ प्रतिशतले बढोत्तरी देखिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ जगेडा तथा कोषमा राखेको छ । यस्तै, आइएमई लाइफको जगेडा तथा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ र सन नेपाल लाइफको भने ८१ करोड ९२ लाख रुपैयाँ छ ।

सन नेपाल खुद नाफामा तेब्बर बढ्यो
खुद नाफामा भने सन नेपाल लाइफ अघि देखिएको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीले २०९.४८ प्रतिशतले नाफा बढाएर ४४ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ। जुन गत आवको समिक्षा अवधिको तुलनामा ३ गुणाले बढी हो ।
यस्तै, चालु आवको ९ महिनामा रिलायवल लाइफले २८ करोड ५७ लाख, आइएमई लाइफले १८ करोड २४ लाख र सिटिजन लाइफले १५ करोड रुपैयाँ खुद नाफा कमाएका छ । यी तीनै वटा कम्पनीको खुद नाफा गत आवको तुलनामा भने ३५.६४ प्रतिशत, ७८.८८ प्रतिशत र २.६० प्रतिशतले बढी हो ।

खुद बीमा शुल्कमा सिटिजन अगाडि, रिलायवलको घट्यो
खुद बीमा शुल्क आर्जनमा सिटिजन लाइफ अगाडि देखिएको छ । कम्पनीले ९ महिनामा ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, आइएमई लाइफले २ अर्ब ८९ करोड ४ लाख, रिलायवल नेपालले २ अर्ब ६४ करोड ५३ लाख र सन नेपाल लाइफले २ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यीमध्ये रिलायवल नेपालको बीमा शुल्क आर्जन गत आवको तुलनामा भने ६.६१ प्रतिशतले घटेको हो ।

जीवन बीमा कोषको सिटिजन लाइफ ठुलो
सिटिजन लाइफको जीवन बीमा कोष ठुलो छ । कम्पनीले जीवन बीमा कोषको आकार ५३ प्रतिशतले बढाएर ८ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ पुर्याएको छ ।

रिलायवल जीवन बीमा कोषमा ६ अर्ब २० करोड २७ लाख रुपैयाँ, आइएमई लाइफको ६ अर्ब ७ करोड ७३ लाख र सन नेपाल लाइफको ४ अर्ब ६१ करोड १८ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्