१० श्रावण २०८३, आइतबार

जीवन बीमा कर्मचारी बोनस बढ्योः ९ महिनामा ४४ करोड छुट्याए, अभिकर्ता कमिसनमा खर्चिए ८ अर्ब



काठमाडौं । संचालनमा रहेका १७ वटा जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस ब्यवस्थाका लागि ४४ करोड बढी छुट्याएका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिर्पोट अनुसार कर्मचारी बोनस ब्यवस्थाका लागि ४४ करोड ७६ लाख ७४ हजार रुपैयाँ छुट्याएका हुन् । यो चालु आवको चैत मसान्तसम्मको तथ्याङ्क हो । जुन गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस ब्यवस्था बापत २६ करोड ३६ हजार रुपैयाँ छुट्याएका थिए ।

सो अवधिमा कर्मचारीहरुको बोनस व्यवस्थाका लागि सबैभन्दा धेरै रकम नेपाल लाइफ इन्स्योरेन्सले छुट्याएको छ । कम्पनीले ६ करोड २९ लाख ८ हजार रुपैयाँ रकम छुट्याएको हो । गत वर्षको सोहि अवधिको भने कम्पनीले उल्लेख गरेको छैन ।कर्मचारीहरुलाई धेरै बोनस व्यवस्था गर्नेहरुको दोस्रो स्थानमा सूर्या ज्योति लाइफ देखिएको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा कर्मचारीहरुको बोनसका लागि ५ करोड ९७ लाख ४२ हजार रुपैयाँ रकम छुट्याएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको उक्त बोनस ३ करोड ९६ लाख रुपैयाँ छुट्याएको थियो । तेस्रो स्थानमा रहेको सन नेपाल लाइफ भने ५ करोड ९३ लाख ९२ हजार रुपैयाँ छुट्याएको छ ।

चालु आवको नौ महिनामा कर्मचारीको बोनसका लागि सबैभन्दा कम रकम राष्ट्रिय बीमा संस्थानले ६ लाख ४८ हजार रुपैयाँ छुट्याएको छ । सो अवधिमा कर्मचारीहरुको बोनस व्यवस्थाका लागि नेशनल लाइफले ३ करोड ८० लाख रुपैयाँ, मेट लाइफले २ करोड ८९ लाख रुपैयाँ, रिलायबल नेपालले २ करोड ८५ लाख रुपैयाँ, प्राइम लाइफले २ करोड ३३ लाख रुपैयाँ, एशियन लाइफले २ करोड १६ लाख रुपैयाँ, आइएमइ लाइफले २ करोड २ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

साथै, सिटिजन लाइफले १ करोड ६६ लाख रुपैयाँ, गुराँस लाइफले १ करोड १६ लाख रुपैयाँ र एनआइसी नेपालको १ करोड ५९ लाख रुपैयाँ, प्रभु लाइफले १ करोड ४७ लाख रुपैयाँ, यूनियन लाइफले १ करोड २९ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ९८ लाख २८ हजार रुपैयाँ कर्मचारी बोनस ब्यवस्थाका लागि छुट्याएको छ ।

अभिकर्ताहरुको कमिसन

जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुको कमिसनमा ८ अर्ब बढी रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा कम्पनीहरुले अभिकर्ताका लागि ८ अर्ब ७ करोड ९ लाख ७५ हजार रुपैयाँ खर्च गरेका हुन् ।

चालु आवको तेस्रो त्रैमासिकको तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिमा कम्पनीहरुको अभिकर्ता कमिसन ९ अर्ब ६७ करोड ८३ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

बीमा अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिशन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन दिने गरिन्छ । अभिकर्ताले पाउने कमिसन बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुने गर्दछ ।

तथ्याङ्क अनुसार गत आवको तलुनामा यस वर्ष भने अधिकांश कम्पनीहरुले बीमालेख बिक्री गरेबापत दिने कमिसन घटेको छ । चालु आवको तीन महिनाको अवधिमा सबैभन्दा धेरै अभिकर्ता खर्च नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले सो अवधिमा २ अर्ब २३ करोड ४३ लाख ८७ हजार रुपैयाँ खर्चिएको छ । तर, गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने कम्पनीको अभिकर्ता कमिशन २ अर्ब ६३ करोड ४६ लाख ५३ हजार रुपैयाँ रुपैयाँ खर्च गरेको थियो ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफले भने १ अर्ब ८ करोड ८६ लाख ८५ हजार रुपैयाँ अभिकर्ताका लागि कमिसनमा खर्चिएको छ । अभिकर्ता कमिसनका लागि सूर्यज्योति लाइफको ६२ करोड ६४ लाख ५९ हजार रुपैयाँ, यूनियन लाइफको ५८ करोड ५ लाख ४६ हजार, एशियन लाइफको ५२ करोड १७ लाख, सिटिजन लाइपको ४९ करोड ५९ लाख रुपैयाँ, रिलायबल नेपालको ३६ करोड ५३ लाख, मेट लाइफको ३५ करोड २४ लाख र आइएमई लाइफको ३२ करोड ६२ लाख खर्चिएका छन् ।

यस्तै, सन नेपाल लाइफको २५ करोड १८ लाख, प्राइम लाइफको २४ करोड ७५ लाख, गुराँस लाइफको २३ करोड ५५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ २२ करोड ९६ लाख, प्रभु लाइफ २१ करोड ९ लाख, महालक्ष्मी लाइफको १६ करोड ५० लाख, राष्ट्रिय बीमा संस्थानको १३ करोड ७५ लाख र एलआइसी नेपालको १० लाख ५२ हजार रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएका छन् ।


प्रतिक्रिया दिनुहोस्