आर्थिक संकटको असर: नयाँ उद्योग र कम्पनी दर्ता संख्या घट्यो, विदेशी लगानी प्रतिवद्धता पनि घट्दै
काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण नयाँ उद्योग दर्ता गर्नेको संख्या घटेको छ । नेपाल सरकारले सार्वजनिक गरेको चालु आर्र्थिक बर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।
आर्थिक सर्वेक्षणअनुसार चालु आवको फागुन मसान्तसम्म १८३ उद्योग दर्ता भएको छ, जुन गत आवको सोही अवधीको तुलनामा ९ प्रतिशतले कमी हो । गत आवको फागुन मसान्तसम्म उद्योग विभागमा २०१ वटा उद्योग दर्ता भएको थियो ।
दर्ता हुने उद्योगको संख्या घटेसँगै लगानी स्वीकृति र रोजगारी अनुमान पनि घटेको छ । गत आवको उक्त अवधीमा २०१ उद्योग दर्ता गर्दा २ खर्ब २८ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृति भएको थियो । तर, यसपाली १ खर्ब ५५ अर्ब रुपैयाँ मात्रै लगानी स्वीकृती भएको छ, जुन गत आवको सोही अवधीको तुलनामा ३२ प्रतिशतले कमी हो ।
रोजगारी अनुमान भने ३३ प्रतिशतले घटेको छ । गत आवमा १९ हजार ५५ हजार रोजगार सिर्जना गर्ने गरि उद्योग दर्ता भएका थिए । यो बर्ष १२ हजार ७४८ वटा रोजगारी सिर्जना हुने गरि उद्योग दर्ता भएका छन् ।
नेपालमा हालसम्म भने ८ हजार ९४७ वटा उद्योग दर्ता भएका छन् । उनीहरुमा कुल २७ खर्ब ८३ अर्ब रुपैयाँ लगानी रहेको छ । रोजगारी भने ६ लाख ७० हजार २५५ रहेको छ ।
बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटले नयाँ उद्योग दर्तामा कमी आएको हो । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बजारमा डिमान्ड छैन । आम उपभोक्ताको खर्च गर्ने क्षमता घटेको छ । त्यसमाथि बैंकको ब्याजदर पनि महंगो छ । बैंकहरु आफै पनि कर्जा लगानी अवस्थामा थिएनन् ।
दर्ता भएका उद्योग मध्ये १५९ उद्योगमा भने विदेशी लगानी छ । चालु आवको समिक्षा अवधीमा २० अर्ब ५६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृति भएको छ । यद्यपि, यो बर्ष विदेशी लगानी प्रतिवद्धता पनि घटेको छ । आर्थिक सर्वेक्षणअनुसार समिक्षा अवधीमा विदेशी लगानी प्रतिवद्धता ३४.५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधीमा १४९ उद्योगमा ३१ अर्ब ८३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको थियो ।
नेपालमा हालसम्म उद्योग बिभाग मार्फत ४ खर्ब ३९ अर्ब ७८ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । ५ हजार ६९३ उद्योगमा सो बराबरको विदेशी लगानी स्वीकृत भएको छ । त्यसमा ३ लाख १ हजार ५९८ रोजगारी सिर्जना हुने अनुमान छ ।
लघु, घरेलु तथा साना उद्योगको संख्या बढ्दै
समिक्षा अवधीमा दर्ता हुने लघु, घरेलु तथा साना उद्योगको संख्या बढेको छ । गत आवको समिक्षा अवधीमा ५ लाख ५० हजार ७७६ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको थियो । तर, अहिले चालु आवमा ६ लाख ७३ हजार २४४ वटा यस्ता उद्योग दर्ता भएका छन् । त्यसबाट ३३ लाख ८५ हजार ५०३ वटा रोजगारी सिर्जना हुने अनुमान छ । गत आवको समिक्षा अवधीमा दर्ता भएका उद्योगबाट ३० लाख ८ हजार ३६९ रोजगारी सिर्जना हुने अनुमान थियो ।
१५ हजार बढी कम्पनी दर्ता
समिक्षा अवधीमा दर्ता हुने कम्पनीको संख्या पनि घटेको छ । गत आवको समिक्षा अवधीमा २१ जहार ९०२ कम्पनी दर्ता भएका थिए । तर, चालु आवको फागुन मसान्तसम्म १५ हजार १८७ वटा उद्योग दर्ता भएको छ । गत बर्षभरमा भने २९ हजार १७ वटा कम्पनी दर्ता भएको थियो । नेपालमा हालसम्म ३ लाख ९ हजार ९९२ वटा कम्पनी दर्ता भएको छ ।













