१० श्रावण २०८३, आइतबार

झण्डै १३ गुणाले बढ्यो लघु जीवन बीमा व्यवसाय, कम्पनीले बिक्री गरे ४२ लाख पोलेसी



काठमाडौं । लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले झण्डै ४२ लाख बीमालेख बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा लघुबीमा गर्ने जीवन बीमा कम्पनीले ४१ लाख ९५ हजार ९२६ वटा बीमालेख बिक्री गरेका हुन् । सो बराबरको बीमालेख बाट कम्पनीहरुले १० महिनामा १ अर्ब ९७ करोड १४ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् । जुन, चालु आवको साउन महिनाको तुलनामा भने ११९१.३० प्रतिशत अर्थात १२.९१ गुणाले बढी हो ।

गत साउनमा कम्पनीहरुले सातै वटा प्रदेशमा ३६ लाख २१ हजार ७५६ बीमालेख बिक्रीबाट १५ करोड २६ लाख ७३ हजार रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका थिए । नयाँ लघुबीमा कम्पनी स्थापना हुन थालेपछि नै पुराना ठुला कम्पनी व्यवसाय वृद्धिमा आक्रामक देखिएका छन् । नयाँ लघुबीमा बीमा कम्पनी आउनभन्दा अघि खास पुराना कम्पनीहरुले यस्तो व्यवसाय राम्रो गरेका थिएनन् । तर, पछिल्लो समय ठुला कम्पनीहरु नै लघुबीमा व्यवसाय बढाउन तातिएको बीमा प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

लघुबीमा दुर दरज र विपन्न तथा सीमान्तकृत समुदायका लागि भनिएता पनि मुख्य शहरकेन्द्रीत देखिएको छ । लघु जीवन बीमाको सबैभन्दा ठुलो हिस्सा बागमती प्रदेश नै छ । बागमतीमा प्रदेशमा लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले कुल २७ लाख २१ हजार २५० वटा बीमालेख बिक्री गरेका छन् । सो बीमालेख बिक्रीबाट कम्पनीहरुले १ अर्ब ४३ करोड ७१ हजार ५७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

लघु बीमा बीमामा दोस्रो हिस्सा लुम्बिनी प्रदेशको देखिएको छ । सो प्रदेशमा यस्तो व्यवसाय गर्ने कम्पनीहरुले कुल ४ लाख ३९ हजार ७१२ वटा लघु जीवन बीमालेख बिक्री गरेका छन । सो प्रदेश मार्फत लघु जीवन बीमा व्यवसाय अन्तर्गत १५ कारेड ४६ लाख २२ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

यस्तै, कोशी प्रदेशबाट १४ करोड ७१ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कोशी प्रदेशमा लघु जीवन बीमा व्यसाय गर्ने कम्पनीहरुले ३ लाख ८४ हजार ७२७ वटा बीमालेख बिक्री गरेका छन् ।

समिक्षा अवधिमा गण्डकी प्रदेशमा कम्पनीहरुले २ लाख ८३ हाजर १४० वटा बीमालेख बिक्री गरेका छन् । कम्पनीहरुले गण्डकीबाट भने कुल ११ करोड ७५ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरि सुदुरपश्चिममा कुल २ लाख १५ हजार २४८ हजार, कर्णाली प्रदेशमा ८७ हजार १९४ र मधेश प्रदेशमा ६४ हजार ६५५ लघु जीवन बीमालेख बिक्री गरेका छन् । यी प्रदेशहरुबाट कम्पनीहरुले क्रमश: ६ करोड ७३ लाख, २ करोड १२ लाख र २ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।


प्रतिक्रिया दिनुहोस्