आयकर विबादले स्तब्ध सेयर बजार, पौने घण्टासम्मै कारोबारले गति पाउन सकेन
काठमाडौं । सेयर बजारमा लगानीकर्ताले आयकरको विरोध गर्दै आन्दोलन थालेपछि नेप्सेमा कारोबारले गति लिन पाएको छैन । बजार खुलेको झण्डै एक घण्टा हुनलाल्दा सम्म बजार त स्थिर छ, तर कारोबार छैन । यो अवस्था नयाँ बजेटमा प्रस्तावित आयकर सम्बन्धि प्रावधानले आएको हो । सेयर बजार उकालो लाग्ने अपेक्षा गरेकै बेलामा सरकारले यसखाले प्रावधान अघि सारेर बजारलाई तितरवितर पारेको छ ।
जेठ लागेदेखि नै उकालो लाग्ने कोसिसमा रहेको सेयर बजारका कारण उत्साहित लगानीकर्ताको खुसि दुई साताभन्दा लामो समय टिक्न सकेन । ६ दशकपछि पहिलो पटक राजस्व संकुचनको सामना गरिरहेको सरकारले वित्तीय क्षेत्रबाट थप कर उठाउने नीति बजेटमार्फतु अघि सारेपछि यो साता नेप्सेमा गम्भीर धक्का देखिएको छ । सेयर कारोबारलाई नै मुख्य पेशा र आम्दानीको मूल स्रोत बनाएका लगानीकर्तामाथि आयकर लगाउने र बोनस सेयर बाँडेर खाइसकेका कयौं कम्पनीले पुरानो हिसाब निकालेर कर तिर्नुपर्ने प्रावधान बजेटले अघि सारेको छ । यही कारण जेठ १ गते २१ महिनाकै न्यूनतम विन्दुमा पुगेर उकालो लागेको सेयर बजारमा फेरि ओरालो यात्राको संकेत देखिएको छ ।
गत साता नेप्सेले ठूलो धक्का व्यहोरेको छ । लगानीकर्ताले बजेटपछि नेप्से बढ्छ भन्ने आशा गरिरहेका बेला बजेटले उल्टै ठूला लगानीकर्तामाथि आयकर लगाउने व्यवस्था अघि सारेपछि नेप्से विपरित बाटोमा धकेलिन पुग्यो । साताभरमा नेप्से करीब ९३ अंक घटेको छ । बजेटपछि लगातार तीन दिनमा १ सय ९ अंकभन्दा फराकिलो अन्तरले घटिसकेको सेयर बजार सूचक अन्तिम दिन विहीबार भने साढे १६ अंक बढेको थियो । नेप्सेमा विक्री चापसँगै कारोबार पनि ह्वात्तै बढेको छ । लामो समयपछि नेप्सेमा दैनिक औसत २ अर्बभन्दा धेरैको कारोबार भएको छ । गत साता औसत २ अर्ब ४ करोड हाराहारीको कारोबार भएको छ । त्योभन्दा अघिल्लो साता दैनिक औसत १ अर्ब ६९ करोडको कारोबार भएको थियो ।
गत विहीबार नेप्से १८ सय ६६ अंकमा रोकिएको थियो । सातामा चार दिन कारोबार भएकोमा तीन दिन ओरालो लागेको सेयर बजारमा १८ सय ३७ देखि १९ सय ७७ सम्म १ सय ४० अंकको फराकिलो उतारचढाव देखिएको छ । यो सिजनमा नेप्सेले १८ सय ७ अंकमा बलियो टेवा तयार पारिरहेको छ । तसर्थ न्यूनतम विन्दु नजिक झरेपछि नेप्से कतिसम्म ओरालो लाग्ला भन्ने भन्योल बढेको लगानीकर्ता बताउँछन् । परिसूचक ओरालो लागेसँगै नेप्सेको बजार पूँजीकरणमा पनि उसरी नै घटेको छ । गत विहीबार सेयर बजारको आकार अर्थात् बजार पुँजीकरण २७ खर्ब २४ अर्ब ६५ लाखमा झरेको थियो । अघिल्लो हप्ता २ खर्ब ६ अर्बभन्दा धेरै बढेको सेयर बजारका लगानीकर्ताको कुल सम्पत्ती गत साता १ खर्ब ३३ अर्बभन्दा धेरै घटेको हो ।
बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिने क्रम बढेको छ । भारतमा २ हजार दरका भारु नोट प्रतिबन्ध लागेसँगै गत साता नेपाली नोटको खपत बढेको देखिए पनि बैंंकहरुसँग गत सातासम्म ५५ खर्ब ११ अर्बभन्दा धेरै निक्षेप थुप्रिएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बैंकहरुको कर्जा निक्षेप अनुपातको आधारमा अहिले नै बैंकहरुले कम्तिमा २ खर्ब ९० अर्ब रुपैयाँ तत्काल कर्जा लगानी गर्नसक्ने अवस्था देखिएको छ । बैंकमा तरलता थुप्रिन थालेको र राष्ट्र बैंकले पनि समानुपातिक रुपमा ऋणको ब्याजदर घटाउनु पर्ने व्यवस्था गरेका कारण ब्याजदर घट्दो क्रममा छ । बैंकरहरु ऋणीको खोजिमा लागेका छन् । व्यवसायीलाई ऋण लिगिदिन बैंकको फोन आउन थालेको छ ।
यस्ता सुधारका छनक देखेपछि अहिले सस्तो भाउमा पाइने सेयर किनेर तुरुन्तै उच्च लाभ पाउने आशामा लगानीकर्ता उत्प्रेरित भएका थिए । फलस्वरुप बजार उकालो लाग्ने कोसिसमा पनि थियो । तर पछिल्लो न्यूनतम विन्दुबाट १ सय ४० अंक हाराहारी बढेसँगै नेप्सेमा बजेटको प्रभाव पर्न थालेको छ । अब आयकरको मुद्दा कसरी टुंगिन्छ भन्ने निश्चय नभएसम्म सेयर बजारले पनि कुन गति लिन्छ भन्ने तय नहुने देखिएको छ । सरकारले आर्थिक विधेयकमा प्रस्ताव गरेको राजस्व सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप कानुनी व्यवस्था गर्ने भनेको छ ।
अहिले सेयर लगानीकर्ताहरु त्यस्तो ‘थप व्यवस्था’मै खेलेर कर तिर्नु नपर्ने वातावरण सिर्जन ागर्न ब्यापक दबाब दिइरहेका छन् । यही कारण आइतबार प्रिओपनमा सेयर कारोबार नै हुन सकेन । औपचारिक कारोबार खुलेको ४० मिनेटसम्म पनि केवल ९ वटा कम्पनीको ७६७ कित्ता सेयर १६ पटकमात्र कारोबार भएको छ । लगानीकर्ता आन्दोलित हुँदा बजार चल्न सकेको छैन । अब यसमा सरकारले कसरी डील गर्छ भन्ने स्पष्ट भएको देखिन्न । उक्त दबाब थेग्न लगानीकर्ताको सामु सरकार नतमस्तक हुन्छ की, बजारलाई बेवास्ता गर्दै कर उठाउने होडमा लाग्छ भन्ने कुराले नै सेयर बजारको भविष्य तय गर्ने अवस्था सिर्जना भएको छ ।













