१५ लाख २३ हजार वैदेशिक रोजगार बीमालेख बिक्री, सन नेपाल, सूर्यज्योति र आइएमई लाइफले गरे धेरै व्यापार
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली कामदरको १५ लाख बढी बीमालेख सक्रिय देखिएको छ । १० महिनामा वैदेशिक रोजगार बीमा अन्तर्गत १५ लाख २३ हजार २६८ बीमालेख सक्रिय छन् ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा वैदेशिक राजगार बीमा व्यवसाय गर्ने कम्पनीहरुले २ अर्ब ७१ करोड ३२ लाख २२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ ।
पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । हाल नेपालमा नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई, सन नेपाल, रिलायवल नेपाल, सिटिजन, प्रभु, सूर्यज्योति र सानिमा लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।
चालु आवको बैशाख महिनासम्ममा वैदेशिक रोजगारी बीमाको दायित्व (बीमाङ्क रकम) ३ खर्ब ७९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुले एक महिनामा मात्रै वैदेशिक रोजगार बीमा मार्फत २३ करोड ३६ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनामा कम्पनीहरुले ५८ हजार ५ सय वटा बीमालेख बिक्री गरेका हुन् ।
वैदेशिक बीमा व्यवसायमा सन नेपाल लाइफ अगाडि देखिएको छ । चालु आवको १० महिनामा कम्पनीले ९५ करोड ९९ लाख ४६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा कुल ७ लाख २६ जहार ६२९ वटा बीमालेख बिक्री गरेको हो । कम्पनीले बैशाख महिनामा मात्रै १४ हजार ९५६ वटा बीमालेख बिक्री गरि ६ करोड ३२ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ ।
वैदेशिक बीमालेख बिक्री गर्न सूर्यज्योति लाइफ दोस्रो स्थानमा देखिएको छ । कम्पनीले बैशाख महिनासम्ममा २ लाख ८० हजार ६३४ बीमालेख बिक्री गरि ३७ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बैशाख महिनामा मात्रै १ हजार ५७१ बीमालेख बिक्री गरि ६४ लाख रुपैयाँ बीमा शुल्क उठाएको हो ।
यस्तै, आइएमई लाइफले ९२ हजार २ सय बीमालेख बिक्री गरि ३६ करोड ६८ लाख, नेपाल लाइफले भने १ लाख ६२ हजार ९९८ वटा बीमालेख बिक्री गरि ३४ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
समिक्षा अवधिमा सानिमा रिलायन्सले वैदेशिक बीमा मार्फत २१ करोड ४५ लाख रुपैयाँ, सिटिजनले १७ करोड १८ लाख, रिलायवल नेपालले १३ करोड ९४ लाख, नेशनल लाइफल ११ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले वैशाख महिनासम्म वैदेशिक रोजगार बीमा अन्तर्गत क्रमश: ५३ हजार ६५७, १ लाख ३२हजार ३८१, ३३ हजार ८२५, ३२ हजार ५०९ वटा बीमालेख बिक्री गरेका छन् ।
समिक्षा अवधिमा वैदेशिक रोजगार बीमाबाट सबैभन्दा कम बीमा शुल्क एशियन लाइफले उठाएको छ । कम्पनीले ४हजार ११ वटा बीमालेख बिक्री गरि १० महिनामा कुल ६३ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको हो ।
१० महिनामा प्रभु लाइफले भने ४ हजार ४२४ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गर २ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।













