बीमा व्यवसायको वृद्धिदर एकल अकंमा, एक वर्षमा ३.६७ प्रतिशतले मात्रै बढ्यो व्यापार
काठमाडौं । अघिल्ला वर्षहरुमा उच्च दरमा वृद्धि हुँदै गएको बीमा व्यवसाय यसपालि भने त्यति उत्साहजनक पाइएको छैन । यस आर्थिक वर्षमा बीमा व्यवसायको वृद्धिदर एकल अंकमा समिति भएको छ ।
अघिल्ला आर्थिक वर्षहरुमा बीमा व्यवसायको वृद्धिदर दोहोरो अंकमा हुने गरेको थियो । चालु आर्थिक वर्ष २०७९/८०ल मा भने व्यवसायमा संकुचन आई वृद्धिदर पनि घटेको छ ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार बीमा कम्पनीहरुको व्यवासय ३.६७ प्रतिशतले मात्रै वृद्धि भएको छ । गत वर्षको बैशाख मसान्तसम्ममा १ खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थिए । तर, यस वर्षको सोही अवधिमा भने झिनो वृद्धि भई १ खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण पनि बीमा व्यवसायमा यस्तो अवस्था सृजना आएको हो । अहिले आर्थिक संकटका कारण आम मानिसहरुको बीमा पोलिसी खरिद गर्ने क्षमता घटेको छ । उल्टै आफ्नो आर्थिक अभाव पुर्ति गर्न पोलिसी सरेन्डर गर्नेको संख्या बढ्दै छ । यी यस्ता कारण व्यवसायमा खास रौनक नदेखिएको जानकारवालाहरु बताउछन् ।
३.३६ प्रतिशतले मात्रै बढ्यो जीवन बीमा व्यवसाय, बीमालेख वृद्धि भने दोहोरो अंकले बढ्यो
चालु आवको बैशाख मसान्तसम्म आईपुग्दा जीवन बीमा व्यवसाय ३.३६ प्रतिशतले मात्रै वृद्धि भएको छ । समिक्षा अवधिमा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीहरुले कुल १ करोड ३८ लाख ८३ हजार ३५७ वटा बीमालेख बिक्री गरेको छन् । गत आवको बैशाख मसान्तसम्ममा भने कम्पनीहरुले जीवन बीमा व्यवसायबाट १ खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । सो वर्ष कम्पनीहरुले कुल १ करोड २३ ७१ हजार ६९१ वटा जीवन बीमालेख बिक्री गरेका थिए । कम्पनीहरुको बीमालेख बिक्री भने १२.२२ प्रतिशतले बढेको हो ।
निर्जीवन बीमा व्यसायमा ४.४८ प्रतिशतको बढोत्तरी
एक वर्षमा निर्जीवन बीमा व्यवसाय जम्मा ४.४८ प्रतिशतले मात्रै वृद्धि भएको छ । चालु आवको बैशाख मसान्तसम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
गत आवको बैशाख मसान्तसम्ममा भने कम्पनीहरुले ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । समिक्षा अवधिमा कम्पनीहरुले कुल २३ लाख ५० हजार ६५२ वटा निर्जीवन बीमालेख जारी गरेका छन् । जुन, गत वर्षको समिक्षा अवधिको तुलनामा ०.१० प्रतिशतले मात्रै बढी हो । कम्पनीहरुको बीमालेख बिक्रीमा भने खास सुधार देखिएको छैन । गत वर्षको बैशाख मसान्तसम्ममा पनि २३ लाख ४८ हजार २३२ वटा निर्जीवन बीमालेख बिक्री भएको थियो ।













