७ श्रावण २०८३, बिहिबार

नेपाली गलैँचाको सबैभन्दा ठुलो बजार नै अमेरिका, ‘सेलीव्रेटी र हाइप्रोफाइल’ व्यक्तिबाट धेरै माग



काठमाडौं । नेपालबाट निर्यात हुने वस्तु मध्ये तेस्रो स्थानमा कार्पेट (गलैँचां) छ । नेपालबाट निर्यात हुने कुल वस्तुकोको ७.२० प्रतिशत हिस्सा गलैँचाले ओगटेको छ ।

चालु आर्थिक वर्ष २०८९/८० को १० महिनामा कुल वस्तुको निर्यात २४.५० प्रतिशतले घटेको छ । तर, गलैँचा निर्यात भने दोहोरो अंकमा बढेको छ । गत आवको बैशाख मसान्तसम्ममा ७ अर्ब ६८ करोड ९७ लाख ५८ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा आईपुग्दा भने २२.८० प्रतिशतले वृद्धि भएको छ । समिक्षा अवधिमा ९ अर्ब ४३ करोड ९७ लाख १७ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ ।

नेपाली गलैँचाको सबैभन्दा ठुलो बजार अमेरिका रहेको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार नेपाली गलैँचा सबैभन्दा धेरै अमेरिका निर्यात हुने गरेको छ । बैशाख मसान्तसम्मा ५ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । गलैँचा निर्यातमा अमेरिकाको हिस्सा मात्रै ६२.४२ प्रतिशत छ ।

दोस्रो स्थानमा जर्मनी रहेको छ । चालु आवको १० महिनामा जर्मनी तर्फ ७३ करोड ९५ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । यस्तै, तेस्रो स्थानमा रहेको बेलायत तर्फ भने ६३ करोड ४१ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको १० महिनामा इटलीमा ४९ करोड १३ लाख, फ्रान्समा २७ करोड ५७ लाख, क्यानडामा २१ करोड ५८ लाख, बेल्जियममा १८ करोड ७८ लाख, अष्ट्रेलियामा १७ करोड ४१ लाख, चीनमा १५ करोड ७६ लाख, स्वीट्जरल्याण्ड तर्फ १३ करोड ८६ लाख रुपैयाँ बराबबरको गलैँचा निर्यात भएको छ ।

नेपालबाट विश्वका करिव ६ दर्जन मुलुकहरुमा नेपाली गलैँचा पुग्ने गरेको छ । पछिल्लो समय विश्व बजारमा नेपाली कार्पेटको माग बढ्दो छ । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अनुसार बिशेषगरि सेलीव्रेटी तथा हाइफ्रोफाइल व्यक्तिहरुका लागि ब्रान्डेड र गुणस्तरीय कार्पेट (गलैचा) को माग हुने गरेको हो ।

तर, नेपालको उत्पादन लागत महंगो हुने गरेकाले विश्वका अन्य देशका कार्पेटसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेको बताईन्छ । नेपाली गलैचाँको निर्यात बढाउन सरकारले यसमा आवश्यक पर्ने सबै कच्चा पदार्थमा भन्सार छुट, श्रमशक्ति व्यवस्थापनका लागि सिपमुलक तालिम आयोजना र बजार प्रवर्द्धनमा सहयोग गर्नुपर्ने संघको भनाई छ ।

सरकारले सहयोग गरे निर्यात तीनदेखि चार गुणासम्म बढाउन सकिने व्यवसायीहरु बताउँछन् । अहिले गलैँचाका लागि चाहिने उनमा मात्रै भन्सार छुट छ । तर, अन्य कच्चा पदार्थमा भने भन्सार छुट छैन । जसले गर्दा लागत बढी हुने गरेको उनीहरुको भनाई छ । सरकारले यसका लािग सिप भएका जनशक्ति उत्पादन गर्न तालिम लगायतका कार्यक्रम आयोजना गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्