२८ श्रावण २०८३, बिहिबार

आइएमई २३औं वर्ष प्रवेश, प्रविधिको प्रयोगमार्फत रेमिटेन्स सेवालाई थप परिष्कृत गर्ने



काठमाडौं । आइएमई लिमिटेडले सोमबार (जेठ २९ गते) स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

“निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

सोही अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने बताए ।

कार्यक्रममा आइएमई ग्रुपका सह संस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यवसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राहीहरु, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरे ।

ग्राहकको रोजाई, आवश्यकता तथा बजारको गतिशिल भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिटेन्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउदै लैजाने बताए । प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिवद्ध रहेको र आफ्ना व्यवसायहरुलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने उनले बताए ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यवसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए ।

उक्त समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारीहरु तथा लामो समयदेखि कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका बिजेता र उपबिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेसडर द्वय दीपकराज गिरी तथा दिपाश्री निरौलाको समेत सहभागिता रहेको सो समारोहमा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुती तथा कम्पनीका कर्मचारीहरुको विभिन्न सास्कृतिक प्रस्तुती रहेको थियो ।