लगानीकर्ताहरुको मुख्य संघ नै बेखबर हुदाँ कसरी बन्ला त महासंघ ?
काठमाडौं । कर नीतिमा सरकारलाई ब्याक गराउन सफल भएका सेयर लगानीकर्ताहरुले लगानीकर्ता महासंघ निर्माण गर्ने निर्णय गरे । कर नीतिबाट सरकार ब्याक भएसँगै लगानीकर्ता माग मुद्धालाई थप शशक्त बनाउन महासंघ निर्माण गर्ने लगानीकर्ताले एकजुट भए ।
लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा वार्ता तथा छलफल समिति तयार भयो । उक्त समितिले छलफल पछि अधिकांश लगानीकर्ता यस सम्बन्धि कार्यमा सकरात्मक रहेको बताउदैं कार्कीले मंगलबार (जेठ ३० गते) लगानीकर्ता संगठनका अध्यक्षलाई बैठकमा बोलाए । बैठकमा केहि संगठनका अध्यक्षहरु सहभागि भए भने कतिले भने सहभागिता जनाएन । मंगलबारको बैठकले असार ९ गते भित्र लगानीकर्ता संगठन घोषणा गर्ने निर्णय गर्यो ।
लगानीकर्ता महासंघ घोषणाको बिषयले चर्चा पाएसँगै अहिले बजारमा टिकाटिप्पणी सुरु भएको छ । आम लगानीकर्ताको हक हित संरक्षण गर्न महासंघ बनाउनु आफैमा राम्रो रहेको एकथरीको तर्क छ भने अर्काथरीले २/४ दिन सामाजिक संजाल रंगाउन र कसैलाई तत्कालै नेता बनाई मक्सद पुरा गर्न महासंघ घोषणा गर्ने लागेको बताउछन् । लगानीकर्ता महासंघ निर्माणका लागि व्यापक छलफल आवश्यक रहेको अधिकांश लगानीकर्ताको तर्क रहेको छ ।
अद्यापि, अधिकांश संगठनका अध्यक्षहरु महासंघ निर्माणमा सकरात्मक रहेको लगानीकर्ता तिलक कोइरालाले बताए । अहिले छलफल कै चरणमा रहेको हुदाँ मंगलबार बैठकमा सहभागि नभएका केहि संगठनका अध्यक्षहरुसँग समेत छलफल जारी राख्ने कोइरालाले बताए । उनले भने, “उक्त छलफलमा अधिकांश अध्यक्षहरु सहभागि थिए केहि सहभागि नभएका अध्यक्षहरु के गर्ने भन्ने विषयमा छलफल जारी नै हुनेछ ।”
लगानीकर्ता महासंघको नेतृत्व तथा निर्माणका लागि अहिले ४–५ जनाको नाम अगाडि बढेको देखिन्छ । नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, तिलक कोइराला, केशव कोइराला (काका), रोहन कार्की र सुवासचन्द्र भट्टराईको नाम चर्चामा रहेको छ । मंगलबारको बैठकमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको सहभागिता रहेको थिएन ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने महासंघ घोषणाका लागि अझै बृहत्त छलफल गर्नु पर्ने बताएकि छिन । उनले भनिन, “म स्वयम् पनि महासंघ बनाउनु पर्छ भन्ने मान्यता राख्दछु । तथापी यस्को लागी बृहत्तर सरसल्लाह र तयारी आबश्यक पर्दछ । मैले नेतृत्व गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघ सातै प्रदेश र ७७ जिल्लामा फैलिएको छ । त्यसैले मैले सबै प्रदेश संयोजक, सह–संयोजक, जिल्ला संयोजक , सह–संयोजक तबथा सदस्यसँग छलफल चलाउनु पर्छ । त्यसको लागी यत्तिकैको गृहकार्यले नपुग्न सक्छ ।”
महासंघ बनाउने भनेको त्यती सजिलै हुने र चानचुने कुरा नभएको पोखरेलको तर्क रहेको छ । “महासंघ बनाउन जस्ले तयारी गर्दैछन् उनिहरु आधिकारीक छन् या छैन त्यो पनि हेर्नुपर्छ । २/४ दिन सामाजिक संजाल रंगाउन र कसैलाई तत्कालै नेता बनाउन र तिनको मक्सद पुरा गर्न मात्रै महासंघ बनाउन खोजिएको हो भने यसमा मेरो ठूलै असहमती रहन्छ । महासंघ बनाऔं ठिक छ पूर्ण तयारीका साथ देशब्यापी दौडाह चलाएर सम्पूर्ण लगानीकर्तालाई समेटौ अनी निर्णयमा पुगौं” पोखरेलले बताइन् ।
लगानीकर्ता संघहरुको मंगलबार बसेको संयुक्त बैठकको निर्णय
१. सम्पूर्ण लगानीकर्ताहरुको भावनाको प्रतिनिधित्व गर्दै आगामी साता लगानीकर्ताहरुको महासंघ घोषणा गर्ने
२. नेपाल राष्ट्र बैंकले मागे अनुसार नयाँ मौद्रिक नीतिका लागि पूँजी बजारको तर्फबाट यसैसाता एकीकृत सुझाव प्रस्तुत गर्ने
३. नयाँ बजेटमा ब्यवस्था भएको पूँजी बजारलाई आघात पार्ने प्रावधान सुधार गर्न अर्थमन्त्रीले प्रतिबद्धता ब्यक्त गर्नु भए अनुसार हुनेमा पूर्ण विस्वास ब्यक्त गर्ने
४. नेप्सेको तत्काल पुन:संरचनाका लागि नेप्सेका कर्मचारीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अर्थ मन्त्रालयमा नेप्से कर्मचारी र लगानीकर्ताहरुको सयुक्त टोलीद्धारा पहल गर्ने ।
५. कानूनी प्रक्रिया र सर्वोच्च अदालतको फैसला अनुसार अगाडि बढेको ब्रोकर लाईसेन्स समेत रोक्न अर्थ समितिले दिएको निदैशनको बैधानिकता आफैमा संकटमा परेकोले सो गल्तिलाई तत्कालैै अर्थ समितिको पूर्ण बैठकले सच्याउनुपर्ने ।













