बिचौलियाले फाइदा उठाउँदा महँगियो प्याजको भाउ: चार गुणाले बढ्यो मूल्य, कालोबजारी समेत सुरु
काठमाडौं । गत जेठ १६ गते प्याजको मूल्य प्रतिकित्ता औसतमा ३५ रुपैयाँ थियो । तर, त्यसपछिको दुई हप्तामै प्याजको भाउ आकासिएको छ । १५ दिनमै प्याजको मूल्य चार गुणासम्म वृद्धि भएको हो ।
सरकारले प्याजको भन्सार शुल्क बढ्ने भनेपछि बजारमा यसको मूल्य वृद्धि भएको छ । जेठ ३१ गते बुधवारसम्म आईपुग्दा भने १०० रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । सरकारले बजेट मार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै १७० वटा वस्तुमा भ्याट लगाउने घोषणा गरेका थिए । यसअघि आयातकर्ता व्यवसायीले आलु, प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर १ प्रतिशत गरी १४ प्रतिशत कर बुझाउँदै आएका थिए । तर, अब आयातकर्ता व्यवसायीहरुले आलु, प्याजमा थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएको छ । त्यसपछि नै प्याजको मूल्य आकासिएको हो । कर वृद्धिकै कारण प्याजको आयात नगरेको बताईन्छ ।
बजारमा प्याजको कालोबजारी समेत सुरु भएको खुद्रा व्यवसायीहरु बताउँछन् । ‘बजारमा प्याजको भाउ आकासिएको छ । सरकारले तोकेको भ्याटलाई देखाउँदै मूल्य एकाएक बढाएका छन् । विचौलियाले आफ्ना फाइदा उठाउन पनि मूल्य महँगो बनाएका छन् । कोलोबजारी समेत सुरु भईसेको छ ।’– एक अधिकारीले भने ।
भ्याट वृद्धि देखाउँदै आयातकर्ताले प्याज आयात नगरेको कालिमाटी थो व्यापारीको संस्थाले जनाएको छ । संस्थाका उच्च अधिकारीका अनुसार व्यवसायीले जेठ २१ गतेदेखि नै प्याज र आयातको रोकेको बताए । यद्यपि, आयात रोके पनि बजारमा अभाव भने नभएको बताइएको छ । ‘भ्याट वृद्धि देखाउँदै आयातकर्ताले प्याज आयात जेठ २१ गतेदेखि नै रोकको भन्ने सुनको छु । अहिले बजारमा प्याजको अभाव छैन । तर, मूल्य भने एकाएक आकासिएको छ ।’–ति अधिकारीले भने ।
बिचौलियाले बजारमा प्याज नआएको फाइदा उठाउँदै मूल्य अझै बढाउन सक्ने बताइएको छ । यसका लागि सरकार र उपभोक्ता मञ्चले अनुगमन गर्नुपर्ने देखिन्छ । बुधवार भारतबाट आयातित प्याजको मूल्य प्रतिकेजी १४० रुपैयाँसम्म पुर्याएको छ । यद्यपि, यो कालिमाटी तरकारी बजार बाहिरको मूल्य हो । कालिमाटी भित्र भने प्रतिकेजी ११० रुपैयाँदेखि ११५ रुपैयाँसम्मको खुद्रा मूल्यमा बिक्री भइरहेको छ । औसतमा दैनिक १० देखि १५ रुपैयाँसम्म मूल्य वृद्धि भएको पाइन्छ । प्याजको मूल्य आकासिँदा सर्वसाधारण उपभोक्ता भने मारमा छन् ।
गत जेठ १७ गते भारतीय प्याजको भाउ प्रतिकेजी ४० रुपैयाँ थियो । त्यसको भोलिपल्ट अर्थात जेठ १८ गते भने थप ५ रुपैयाँ बढेको थियो । यस्तै, जेठ १९ र २० गते भने ५२ रुपैयाँ, जेठ २१ गते ५० देखि ५५ रुपैयाँसम्मको वरिपरि बिक्री भईरहेको थियो । त्यसपछि २२ गते सोमबार भने ६० रुपैयाँसम्म खरिदबिक्री भएको थियो ।
अघिल्लो मंगलबारदेखि भने लगातार बढी रहेको छ । जेठ २२ गतेपछिको एक हप्तामै साढे दुई गुणाले प्याजको भाउ बढेको छ । तर, अघिल्लो सोमबार भने कालिमाटी फलफूल तथा तरकारी विकास समितिले भने प्याजको दैनिक मूल्य सूची राखेको छैन ।













