इप्पानको अध्यक्षमा कार्कीसहित सबै पदाधिकारी निर्विरोध
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी खारेज भएपछि कार्की अध्यक्ष चुनीएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद अधिकारीको पनि उम्मेदवारी परेको भएपनि योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि डाँगी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परे पनि दुई जनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । २ जना वीरेन्द्र मल्ल र दीपेन्द्र बमको भने योग्यता नपुगेको निर्वाचन समिति खारेज गरेको हो ।
त्यस्तै १ महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा विनोद देवकोटाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यसअघि नै निर्वाचित भइसकेका छन् ।
त्यस्तै ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेकोमा नारायण कँडेलका योग्यता नपुगेपछि सबै निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेपछि उनी पनि यसअघि नै निर्वाचित भइसकेका छन् । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भइसकेका छन् । ७ जना खुला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन् । इप्पानको २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हायात होटलमा हुँदैछ ।












