१० श्रावण २०८३, आइतबार

लघुबीमा व्यवसाय आक्रामक बन्दै, नयाँ लघुबीमा आउने भएपछि तातिएका हुन् पुराना ठुला कम्पनीहरु ?



काठमाडौं । नेपाली बीमा बजारमा लघुबीमा व्यवसाय ह्वात्तै वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामै लघुबीमा व्यवसाय साढे १२ गुणाले बढेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको बैशाख मसान्तसम्मको तथ्याङकले यस्तो देखाएको हो । समिक्षा अवधिमा लघुबीमा व्यवसाय गर्ने जीवन र निर्जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा २ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन चालु आवको पहिलो महिना अर्थात साउनको तुलनामा १२.७८ गुणाले बढी हो ।

चालु आवको पहिलो महिनामा कम्पनीहरुले लघुबीमा मार्फत १५ करोड ८९ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । तथ्याङ्क अनुसार कम्पनीहरुले मासिक औसतमा २० करोड माथिको लघुबीमा व्यवसाय गरेको देखिन्छ । नेपाली बीमा बजारमा अब नयाँ लघुबीमा स्थापना हुँदैछन् । नयाँ लघुबीमा कम्पनी स्थापना हुन थालेपछि ठुला पुराना कम्पनीहरु व्यवसाय बढाउन तातिएका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार पुराना ठुला कम्पनीहरुले लघुबीमा व्यवसाय आक्रामक बनाएको देखिन्छ । नयाँ लघुबीमा कम्पनीहरुले आउने भएपछि व्यवसाय बढाउन आक्रामक बनेको विज्ञहरुले बताउँछन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमा पुहँच पुर्याउने उद्देश्य सहित लघुबीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइसकेको छ । प्राधिकरणले सातै प्रदेशमा १/१ वटा लघुबीमा स्थापना गर्ने गरि ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिइ सकिएको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि न्युन आय वर्गका व्यक्तिहरुको जीवनस्तर उकास्न लघुबीमा व्ययवसायले प्रभावकारी भुमिका खेल्ने विज्ञहरुको भनाई छ । यसअघि पुराना ठुला बीमा कम्पनीहरुबाट लघुबीमा बीमामा खास राम्रो काम हुन सकिरहेको थिएन । यद्यपि, नयाँ लघुबीमा आउने भनिएपछि पुराना कम्पनीहरु व्यवसाय बढाउने तर्फ लागेको बताइन्छ ।

झण्डै १३ गुणाले बढ्यो लघु जीवन बीमा व्यवसाय, ४२ लाख बीमालेख सक्रिय

चालु आवको १० महिनामा लघु जीवन बीमा करिव १३ गुणाले वृद्धि भएको छ । गत साउन महिनामा कम्पनीहरुले लघु जीवन बीमा मार्फत १५ करोड २६ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

तर, चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा उल्लेख्य बढाएका छन् । सो अवधिमा आइपुग्दा कम्पनीहरुले १ अर्ब ९७ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । बैशाख मसान्तसम्ममा लघु जीवन बीमा तर्फ ४१ लाख ९५ हजार ९२६ वटा पोलेसी सक्रिय छन् ।

निर्जीवन लघुबीमा ८८० प्रतिशतले बढ्यो

१० महिनामा लघुबीमा निर्जीवन बीमा व्यवसाय पनि उल्लेख्य वृद्धि भएको छ । प्राधिकरणका तथ्याङ्क अनुसार चालु आवको बैशाख मसान्तसम्ममा आईपुग्दा यस्तो बीमा मार्फत ६ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको पहिलो महिनामा भने लघु निर्जीवन बीमा मार्फत कम्पनीहरुले ६३ लाख रुपैयाँ मात्रै बीमा शुल्क उठाएका थिए । बैशाख मसान्तसम्ममा ३३ हजार ४८२ वटा बीमालेख सक्रिय देखिएको छ । निर्जीवन लघुबीमा कम्पनीहरुले मासिक औसतमा ६१ लाख बढी गरेको तथ्याङ्कले देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्