२७ श्रावण २०८३, बुधबार

राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा. महतको निर्देशन



विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए । उनले भने,–‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’

सोही अवसरमा मन्त्री महतले अहिले बजेटले करका दायरा फराकिलो बनाएको जानकारी गराए । दायरा बढाएसंगै सेवाग्राहीलाई राम्रोसँग बुझाउन उनले निर्देशन दिए । उनले भने,–‘मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो, बजेटले करको दायारा बढाएको छ । यसमा तपाईहरुले सेवाग्राहीलाई राम्रोसंग बुझाउनुहोला।’ उनले थपे,–‘तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ, आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।’

मन्त्री डा. महतले आम नागरिकलाई दु:ख दिने काम नगर्नु आग्रह गरे । उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने,– ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’