१० श्रावण २०८३, आइतबार

जीवन बीमा व्यवसाय: शीर्षस्थानमा नेपाल लाइफ, नेशनल र एलआइसीबीच प्रतिस्पर्धा, हिमालयन र सूर्यज्योति पनि तातिए, नयाँ व्यवसाय कस्तो ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १० अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार जेठ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ४३ करोड ४० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । जेठ महिनामा कम्पनीहरुले २ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । सो महिनामा कम्पनीहरुले नवीकरण मार्फत ७ अर्ब ८१ करोड ९ लाख रुपैयाँ शुल्क उठाएका छन् । कम्पनीहरुले जेठमा ८ लाख ४५ हजार ३६२ वटा बीमालेख बिक्री गरेका हुन् ।

प्राधिकरणका अनुसार चालु आवको ११ महिनामा भने कम्पनीहरुको कुल व्यवासय १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ रहेको छ । जेठ महिनासम्ममा कम्पनीहरुले नयाँ व्यवसायबाट २५ अर्ब ९५ करोड १० लाख रुपैयाँ संकलन गरेका छन् । समिक्षा अवधिका कम्पनीहरुको नवीकरण बीमा शुल्क भने ९८ अर्ब ५९ करोड २७ लाख रुपैयाँ रहेको छ । जेठ मसान्तसम्ममा कुल सक्रिय रहेको बीमालेखको संख्या १ करोड ४० लाख ६९ हजार ९३७ वटा रहेको छ ।

एक महिनामा नेपाल लाइफको साढे दुई अर्ब बढीको विजनेश, ६४ करोडको नयाँ व्यवसाय

चालु आवको जेठ महिनामा सबैभन्दा धेरै बिजनेश नेपाल लाइफ इन्स्योरेनसको देखिएको छ । कम्पनीले जेठ महिनामा मात्रै २ अर्ब ७१ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । सो महिनामा कम्पनीले ६४ करोड ३७ लाख रुपैयाँ बढीको नयाँ व्यवसाय भित्र्याएको छ ।

जेठमा कम्पनीले नवीकरण मार्फत २ अर्ब ६ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । सो महिनामा कम्पनीले २५ हजार ४९५ बीमालेख बिक्री गरेको हो । जेठ मसान्तसम्ममा आईपुग्दा भने कम्पनीको कुल बिजनेश ३२ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

चालु आवको ११ महिनामा कम्पनीले ५ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको हो । सो अवधिसम्ममा कम्पनीले नवीकरण मार्फत २७ अर्ब २२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । ११ महिनासम्ममा कम्पनीको सक्रिय बीमालेखको संख्या भने १० लाख ६६ हजार ९३५ रहेको छ ।

नयाँ व्यवासयमा नेशनललाई पच्छ्याउँदै एलआईसी

जेठ महिनामा नेशनल लाइफले डेढ अर्बको बिजनेश गरेको छ । जेठमा सबैभन्दा धेरै बिजनेश गर्ने कम्पनीहरुको दोस्रो धेरै हो । सो महिनामा नेशनलले १ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको बिजनेश गरेको हो । जेठमा मात्रै कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ भने नवीकरण मार्फत १ अर्ब ३३ करोड १३ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । सो महिनामा कम्पनीले ५१ हजार ९४७ बीमालेख बिक्री गरेको हो ।

यता, तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले भने जेठमा मात्रै १ अर्ब २९ करोड ६६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। सोमध्ये १७ करोड ६६ लाख रुपैयाँ नयाँ व्यवसायबाट उठाएको हो । कम्पनीले जेठ महिनामा नवीकरण मार्फत भने १ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जेठमा एलआईसीले ५ हजार ८४० वटा बीमालेख बिक्री गरेको हो ।

चालु आवको जेठ मसान्तसम्ममा भने नेशनल लाइफले कुल १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बिजनेश गरेको हो । सोमध्ये नयाँ व्यवसाय ३ अर्ब २२ करोड ४७ लाख र नवीकरण मार्फत १० अर्ब ८४ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यता, एलआईसीले भने जेठ मसान्तसम्म आईपुग्दा ६ लाख ८३ हजार १०४ वटा बीमालेख बिक्री गरि कुल १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । सोमध्ये नयाँ व्यसायबाट २ अर्ब १ करोड ३ लाख रुपैयाँ र नवीकरणबाट १३ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ ।

हिमालयन र सूर्यज्योतिबीच प्रतिस्पर्धा

जेठ महिनामा हिमालयन लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यी दुवै कम्पनीको व्यवसाय लगभग बराबरी देखिएको छ ।

जेठ महिनामा हिमालयन लाइफले ८२ करोड ६९ लाख रुपैयाँको बिजनेश गरेको छ । कम्पनीले सो महिनामा १० करोड ३९ लाख रुपैयाँको मात्रै नयाँ व्यवसाय भित्र्याएको छ । जेठमा हिमालयनले नविकरण मार्फत ७२ करोड २९ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । सो महिनामा कम्पनीले कुल २ हजार ३०३ बीमालेख बिक्री गरेको हो ।

यस्तै, सूर्यज्योति लाइफले पनि जेठ महिनामा ७१ करोड ४५ लाख रुपैयाँ बराबरको बिजनेश गरेको छ । योमध्ये १८ करोड ४९ लाख रुपैयाँ नयाँ व्यवसाय हो । यस्तै, नविकरणमार्फत ५२ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जेठमा कम्पनीले २९ हजार ५७५ बीमालेख बिक्री गरेको छ । नयाँ व्यसायमा भने सूर्यज्योतिले हिमालयन लाइफलाई पछि पारेको छ ।

जेठमा कुन कम्पनीको बिजनेश कस्तो ?

स्रोत: नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्