२७ श्रावण २०८३, बुधबार

नाडा प्रतिनिधि मण्डल र भन्सार महानिर्देशकबीच छलफल



काठमाडौं । असार १५ गते शुक्रबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलबीच छलफल भएको छ ।

छलफलमा वीरगञ्ज भन्सार कार्यालय, पर्साले २०८० साउन १ गते पछि पैठारी हुने तयारी मालवस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि मालवस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पुरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्ने भन्ने विषयमा जारी गरेको सूचना लगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको हो ।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोवाइल स्पेयर पार्टसका कतिपय वस्तुहरुमा यस्तो व्यवस्था लागु गर्न कठीनाई हुने कुराहरु बताएका थिए । त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राख्य ।

सो छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिदैँ अटोमोवाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागु हुने बताए । यसै क्रममा उनले अटोमोवाइल स्पेयर पार्टसका केही वस्तुहरुमा यस्तो व्यवस्था गर्न कठीनाई हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको जानकारी दिएका थिए ।

साथै, सो छलफलमा महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुने अप्ठेरो र झण्झट पनि नहुने कुरा प्रष्ट पारे । विभागका उपमहानिर्देशकद्धय सेवन्तक पोखरेल र रमेश अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।