शिखरको अग्रता झन् फराकिलो: सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ, युनाईटेड र आइजिआईबीच टक्कर, हिमालयनको फड्को
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा निरन्तर लागि परेका छन् । पछिल्लो एक महिनामै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बढीको बिजनेश गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जेठ महिनामा मात्रै कम्पनीहरुले १ लाख ९१ हजार २२६ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् ।
चालु आवको ११ महिनासम्ममा भने कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिमा २५ लाख ३७ हजार ४१६ वटा पोलेसी बेचेका छन् ।
औसतमा कम्पनीहरुले मासिक ३२ करोड रुपैयाँ ९ लाख रुपैयाँका दरले बिजनेश ग्रोथ गरेका छन् । गत बैशाखको तुलनामा कम्पनीहरुको व्यवसाय समग्रमा १०.७३ प्रतिशतले बढेको छ । व्यवासय वृद्धि गर्न कम्पनीहरुबीच प्रतिस्पर्धा देखिएको छ । चालु आवको ११ महिनामा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सले गरेको छ ।
मर्जपछि बनेका सगरमाथा लुम्बिनी (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्सबीच व्यवासयमा निकै प्रतिस्पर्धा देखिएको छ । गत बैशाखको तुलनामा हिमालयन एभरेष्टले भने सबैभन्दा धेरै बिजनेश वृद्धि गरेको छ । तथ्याङ्क अनुसार सबैभन्दा कम नेशनल इन्स्योरेन्सको देखिएको छ ।
शिखरको अग्रता कायमै, ४ अर्ब ७६ करोड बढी प्रिमियम उठायो
संचालनमा रहेका मध्ये सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सले गरेको छ । ११ महिनामा कम्पनीले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीहरुको भन्दा धेरै हो । कम्पनीले व्यवसायमा अग्रता कायमै राखेको छ । गत बैशाख मसान्तसम्ममा कम्पनीको यस्तो शुल्क ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ रहेको थियो । बैशाखको तुलनामा कम्पनीको व्यवसाय ७.५४ प्रतिशत अर्थात ३३ करोड ३८ लाख रुपैयाँले वृद्धि भएको हो । जेठ महिनामा मात्रै कम्पनीले १७ हजार ८५१ वटा बीमालेख बिक्री गरेको छ । गत बैशाखमा भने कम्पनीले २० हजार ९६७ वटा बीमालेख बिक्री गरि २७ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
सगरमाथा लुम्बिनीलाई पच्छयाउँदै सिद्धार्थ प्रिमियर, बिजनेश ग्रोथ पनि बराबरी
तथ्याङ्क अनुसार व्यवसायमा सगरमाथा लुम्बिनी (सलिको) र सिद्धार्थ प्रिमियरको बराबर जस्तै छ । सलिकोलाई सिद्धार्थ प्रिमियरले पच्छाएको देखिन्छ ।
सलिकोले गत बैशाख मसान्तसम्ममा ३ अर्ब ७३ करोड ७ लाख रुपैयाँ बीमा शुल्क उठाएका थियो । तर, जेठ मसान्तसम्ममा आईपुग्दा भने ९.५९ प्रतिशतले व्यवासय वृद्धि गरि ४ अर्ब ८ करोड ८६ लाख रुपैयाँ प्रिमियम उठाएको छ । यता, सिद्धार्थ प्रिमियरले ४ अर्ब १ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत बैशाख मसान्तसम्मको तुलनामा १० प्रतिशतले बढी हो । यी दुवै कम्पनीहरु मर्जपछि झन् प्रतिस्पर्धी बनेका हुन् । ११ महिनामा सगरमाथाले ३ लाख ५ हजार ६३३ वटा र सिद्धार्थ प्रिमियरले ३ लाख १३ हजार ६०२ वटा बीमालेख बिक्री गरेका छन् । जेठ महिनामा मात्रै यी दुई कम्पनीहरुले क्रमश: ३५ करोड ७८ लाख र ३६ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
हिमालयन एभरेष्टले फड्को मार्दा युनाईटेड अजोड र आइजिआई प्रुडेन्सियलबीच टक्कर
प्राधिकरणको तथ्याङ्क अनुसार विजनेश ग्रोथमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले अगाडि देखिएको छ । कम्पनीले एक महिनामै २२.९६ प्रतिशतले व्यवसाय बढाएको हो । जुन निर्जीवन बीमा कम्पनीहरुमध्यकै बढी हो । कम्पनीले जेठ मसान्तसम्म आइपुग्दा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, गत बैशाख मसान्तसम्ममा भने कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ मात्रै प्रिमियम उठाएको थियो ।
मर्जपछि भने युनाईटेड अजोड र आइजिआई प्रुडेन्सियल कम्पनी पनि व्यवस्याय विस्तारमा जोड दिएका छन् । युनाईटेड अजोडले एक महिनामा थप ९.७१ प्रतिशतले व्यवसाय बढाएको छ । योसंगै जेठ मसान्तसम्म आईपुग्दा कम्पनीको कुल बीमा शुल्क आर्जन ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यता, आइजिआई प्रुडेन्सियलले पनि ११.७३ प्रतिशतले व्यवसाय बढाएर ३ अर्ब १ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । गत बैशाख सम्ममा भने कम्पनीले २ अर्ब ७० करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
नेकोसहित चार कम्पनीको व्यवसाय २ अर्ब माथि, तीन वटाले अर्ब कटाए
व्यवसायको आधारमा नेको इन्स्योरेन्स कम्पनी सातौं स्थानमा पुगेको छ । यसअघि अर्थात गत बैशाखमा कम्पनी पाँचौं स्थानमा रहेको थियो । चालु आवको ११ महिनामा नेकोले २ अर्ब ६६ करोड ९४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । गत बैशाखको तुलनामा भने कम्पनीले ८.५४ प्रतिशतले व्यवसाय बढाएको हो ।
यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड २३ लाख, एनएलीले २ अर्ब १४ करोड ८३ लाख र सानिमा जिआइसीले पनि २ अर्ब ४ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यी तीनै वटा कम्पनीको बीमा शुल्क गत बैशाख मसान्तसम्मको तुलनामा भने क्रमश: ११.७१ प्रतिशत, ८.०६ प्रतिशत र १२.५० प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा तीन वटा निर्जीवन बीमा कम्पनीले भने १ अर्ब बढीको व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले जेठ मसान्तसम्ममा १ अर्ब ४१ करोड ३ लाख, प्रभुले १ अर्ब ४० करोड ७७ लाख र दि. ओरियण्टलले १ अर्ब २४ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यता, नेशनल इन्स्योरेन्सले भने सबैभन्दा कम ९० करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
कुन कम्पनीको कति ?














