९ श्रावण २०८३, शनिबार

६६ प्रतिशत ‘राइट सेयर’ जारी गर्दा पनि एनएलजीको न्यूनतम चुक्ता पुँजी नपुग्ने, बाँकी कसरी पुर्‍याउँदै ?



काठमाडौं । चुक्तापुँजी पुर्याउनका लागि नेपाल बीमा प्राधिकरणले एनलजी इन्स्योरेन्सलाई ६६ प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्नकाशन गर्न पुर्व स्वीकृति दिएको छ ।

कम्पनीले चुक्तापुँजी पुर्याउने प्रस्ताव प्राधिकरणमा पेश गरेको थियो । त्यसमा विभिन्न शर्त तोक्दै प्राधिकरणले सोमबार कम्पनीलाई हकप्रद सेयर निकाष्शन गर्ने अनुमति दिएको हो ।

एनएलजी नेशनल लाइफ इस्योरेन्सको सहायक कम्पनी हो । त्यसमा नेशनल लाइफको ५० प्रतिशत सेयर स्वामित्व छ । तर, केही बर्षअघि ल्याइएको नियमअनुसार एउटा बीमा कम्पनीमा एउटै व्यक्ति तथा संस्थाको १५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुन पाउदैन । सोही अवस्थामा नेशनल लाइफको सेयर स्वामित्व तोकिएको सिमामा ल्याउने शर्तमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिइएको हो ।

पछिल्लो निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीले न्यूनतम चुक्तपुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब ५० करोड पुर्याउनुपर्ने छ । त्यसका लागि आगामी असार मसान्तसम्मको समय छ ।

प्राधिकरणले चुक्तापुँजी बढाउनकै लागि बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न नदिने भन्दै आएको थियो । सोहीअनुसार थुप्रै बीमा कम्पनीहरु मर्जरमा गएका थिए । तर, प्राधिकरणले एनएलजीलाई हकप्रद सेयर निकाष्शन गर्न दिएको हो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड छ । त्यसको ६६ प्रतिशत अर्थात् ९५ करोड ७० लाख हकप्रद जारी गरेपछि कम्पनीको पुँजी २ अर्ब ४० करोड ७० लाख रुपैयाँ पुग्नेछ, जुन प्राधिकरणले तोकेको भन्दा ९ करोड ३० लाख रुपैयाँ कमी हो । यसरी हकप्रद सेयर जारी गर्दा पनि कम्पनीको चुक्तापुँजी नपुग्ने देखिएको हो । यद्यपि, चालु आवको नाफाबाट बोनस सेयर दिएर चुक्तापुँजी बढाउने विकल्प भने देखिन्छ । कम्पनी बोनस सेयरपछि पुँजी जुटाउने योजनामा छ ।


प्रतिक्रिया दिनुहोस्