९ श्रावण २०८३, शनिबार

निर्जीवन बीमा बजार: प्रिमियममा मोटर र सम्पत्ति बीमाको योगदान मात्रै ५५.३४ प्रतिशत, अन्यको हिस्सा कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय दुई अर्बले वृद्धि भएको छ । एक वर्षको अवधिमा कम्पनीहरुको व्यवसाय ५.९७ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको समिक्षा अवधिको तुलनामा २ अर्ब ४ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको ११ महिनामा कम्पनीहरुले २५ लाख ३७ हजार ४१६ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको सबैभन्दा धेरै हिस्सा छ । दोस्रो स्थानमा सम्पत्ति बीमा छ । समग्रमा मोटर र सम्पत्ति बीमाले नै निर्जीवन बीमाको ५५.३४ प्रतिशत ओगटेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कको ३३.३५ प्रतिशत मोटर बीमाले ओगटेको छ । चालु आवको ११ महिनामा मोटर बीमा मार्फत १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । सो अवधिमा मोटर बीमा गर्ने कम्पनीहरुले १६ लाख १ हजार ६४६ वटा पोलेसी बिक्री गरेका हुन् ।

निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको साथ पनि बढी नै छ । व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २१.९९ प्रतिशत छ । जेठ मसान्तसम्ममा सम्पत्ति बीमा मार्फत कम्पनीहरुले ७ अर्ब ९६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले ४ लाख ३८ हजार १०३ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार तेस्रो स्थानमा इञ्जिनियरिङ बीमा छ । निर्जीवन बीमा व्यवसायमा यस्तो बीमाको योगदान १७.०८ प्रतिशत छ । इञ्जिनियरिङ बीमाले निर्जीवन बीमामा तेस्रो धेरै हिस्सा ओगटेको हो । समिक्षा अवधिमा यस्तो बीमा व्यवसायबाट कम्पनीहरुले ६ अर्ब १८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जेठ मसान्तसम्ममा कम्पनीहरुले २९ हजार ८७८ वटा इञ्जिनियरिङ बीमालेख बिक्री गरेका छन् ।

यस्तै, विविध बीमा अन्तर्गत कम्पनीहरुले ४ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्कमा विविध बीमाले ११.२२ प्रतिशत साथ दिएको छ । विविध बीमा अन्तर्गत कम्पनीहरुले १ लाख ५१ हजार ४९७ वटा बीमालेख बिक्री गरेका छन् ।

यस्तै, निर्जीवन बीमा व्यसायमा कृषि तथा बाली बीमाको हिस्सा ५.७६ प्रतिशत, हवाई बीमाको ५.४० प्रतिशत, सामून्द्रिक बीमाको ५.०२ प्रतिशत र लघुबीमाको हिस्सा ०.१८ प्रतिशत रहेको छ । यी बीमा अन्तर्गत कम्पनीहरुले ११ महिनामा क्रमश: २ अर्ब ८ करोड ३८ लाख रुपैयाँ, १ अर्ब ९५ करोड ५५ लाख, १ अर्ब ८१ करोड ६३ लाख र ६ करोड ५२ लाख रुपैयाँ बीमालेख बिक्री गरेका छन् ।

कुनको हिस्सा कति ?


प्रतिक्रिया दिनुहोस्