९ श्रावण २०८३, शनिबार

१२ अर्बको ९२ हजार बढी बीमा पोलेसी सरेन्डर: जेठमा भने घट्यो, कुन कम्पनीको कति ?



काठमाडौं । अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को संख्या र सरेन्डर रकम बढ्दै गएको छ ।चालु आर्थिक बर्षको ११ महिनामा १२ अर्ब रुपैयाँ बराबरको जीवन बीमा पोलिसी सरेन्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार जेठ मसान्तसम्म ९२ हजार २८१ वटा बीमा पोलिसी सरेन्डर भएको छ । आम मानिसले निश्चित अवधी तोकेर जीवन बीमा गर्ने गर्छन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ । तर, उक्त अवधी नसकिदैं बीमितहरुले पोलिसी बन्द (सरेन्डर) गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, जुन प्रवृति पछिल्लो समय बढ्दै गएको कम्पनीहरु बताउछन् । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ । त्यसपछि पोलिसी बन्द हुनेछ ।

गत आव २०७८/७९ मा १२ अर्ब १८ करोड ५ लाख रुपैयाँ बराबर ८१ हजार ८६० वटा बीमा पोलिसी सरेन्डर भएको थियो । चालु आवको १० महिनाको ११ महिनामा सोही बराबरको पोलिसी सरेन्डर भइसकेको छ ।

बीमा अभिकर्ताहरुले कमिशनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको संख्या बढेको बीमा विज्ञहरु बताउँछन् । ‘पछिल्लो समय अन्डरराइटिङ राम्रो नगरी र बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेको पाइन्छ । त्यसले पनि सरेन्डर गर्ने बढेको छ । बीमा योजनाको बारेमा राम्रोसंग बुझेर आफ्नो आवश्यकता अनुसार बीमालेख खरिद गर्ने अभ्यास नहुँदा पनि सरेडन्डर हुने गरेको छ’–एक विज्ञले भने ।

बीमा सरेन्डर कम गराउनका लागि प्राधिकरणले निर्देशिका मार्फत नयाँ व्यवस्था समेत जारी गरेको छ । नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न नपाउने उल्लेख छ । यस्तो व्यवस्थाले बीमालेख सरेन्डर दर घट्दै जाने प्राधिकरणले जनाएको छ । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।

बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बीमालेख सरेन्डर बढ्दै गएको सरोकारवालाहरु बताउछन् । पछिल्लो समय आर्थिक संकटका कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको छ । बजार महंगी बढेको छ भने क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरुले बीमालेख नविरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको प्राधिकरणका अधिकारीहरु बताउछन् ।

मासिक ८ हजार ३९८ पोलेसी बन्द, जेठ महिनामा भने घट्यो

प्राधिकरणका अनुसार मासिक औसतमा ८ हजार ३९८ वटा पोलेसी बन्द हुने गरेको पाइएको छ । यो रकममा भने औसत १० हजार ९३० रुपैयाँ हुन् आउँछ ।

तथ्यांकअनुसार यो बर्ष रकमका आधारमा माघमा सबैभन्दा बढी पोलिसी सरेन्डर भएको छ । सो महिनामा १ अर्ब ३२ करोड रुपैयाँको पोलिसी सरेन्डर भएको छ । संख्याको आधारमा भने बैशाख महिनामा सबैभन्दा धेरै पोलिसी सरेन्डर भएको छ । बैशाखमा १० हजार ७९७ वटा पोलिसी सरेन्डर भएको तथ्याङ्कमा उपलब्ध छ ।

तथ्यांकअनुसार चालु आवको पहिलो महिना अर्थात साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ पोलिसी सरेन्डर भएको छ । यसैगरि भदौंमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोज ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा पोलिसी सरेन्डर भएको छ ।

यसैगरि मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा, पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ वटा, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा पोलिसी सरेन्डर भएको छ ।

यसैगरि चैतमा १ अर्ब १८ करोड ६ लाख बराबरको ९ हजार ३५८ वटा, बैशाखमा १ अर्ब ३० करोड ८६ लाख बराबरको १९ हजार ७९७ र जेठमा १ अर्ब ३ करोड ८९ लाख बराबरको ९ हजार ७३३ वटा पोलिसी सरेन्डर भएको छ । तर, बैशाखको तुलानामा जेठमा भने सरेन्डर घटेको छ । जेठ महिनामा ९ हजार ७३३ वटा पोलेसी बन्द भएको छ । सो महिनामा १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको पालेसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । जुन गत बैशाख महिनाको तुलनामा २०.६० प्रतिशत (रकमको आधारमा) ले कमी हो ।

कुन महिनामा कति ?

नेपाल लाइफको धेरै सरेन्डर, अन्य कुन कम्पनीको कति ?

प्राधिकरणको तथ्याङ्क अनुसार जेठ महिनामा सबैभन्दा धेरै सरेन्डर नेपाल लाइफको देखिएको छ । जेठमा कम्पनीको २ हजार ८५८ वटा पोलेसी बन्द भएको छ। कम्पनीका बीमितले ४३ करोड ३९ लाख रुपैयाँ बराबरको पोलेसी त्यागेका हुन् ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोशेन (नेपाल) का बीमितले १३ करोड ८८ लाख रुपैयाँ बराबरको १ हजार ७२२ वटा पोलेसी सरेन्डर गरेका छन् ।

यस्तै, राष्ट्रिय बीमा संस्थाका बीमितले १२ करोड ४६ लाख रुपैयाँ बराबरको १ हजार ७११ वटा, नेशनल लाइफको १० करोड २८ लाख रुपैयाँ बराबरको ८५१ वटा पोलेसी सरेन्डर भएको छ । समिक्षा महिनामा सबैभन्दा कम सन नेपाल लाइफको ३९ लाख रुपैयाँ बराबरको ३४ वटा पोलेसी बन्द भएको छ ।


प्रतिक्रिया दिनुहोस्