साना किसान र आरएमडीसीको एकीकृत कारोबार आजैबाट, यसरी हुँदै छ दुई ठूला होलसेल लघुवित्तको मर्जर
काठमाडौं । आजबाट दुई ठूला लघुवित्त वित्तीय संस्थाहरु मिलेर एकीकृत कारोबार सुरु हुँदै छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर आइतरबाबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।
सानाकिसान लघुवित्तले देशब्यापी रुपमा सहकारी संस्थाहरु निर्माण गरेर तिनै सहकारीमार्फत् ग्रामीण क्षेत्रका गरिबहरुसम्म वित्तीय पहूँच पुर्याउँदै आएको छ । उसले एसियाली विकास बैंक र विश्व बैंकजस्ता बहुपक्षीय विकास साझेदारबाट ऋण लिएर पनि गरिवि निवारण र ग्रामीण उद्यमशीलताको विकासमा काम गर्दै आएको छ । लामो समयदेखि नेपाली कृषकलाई इजरायली कृषि प्रविधीको सीप सिकाउनमा पनि साना किसान लघुवित्तको भूमिका बलियो रहँदै आएको छ ।
आरएमडीसी भने नेपालको सबैभन्दा ठूलो थोक लगानीकर्ता लघुवित्त हो । २०५५ सालमा ‘ग्रामीण लघुवित्त विकास केन्द्र’को नाममा स्थापना भएको यो संस्थाले अहिले अन्य लघुवित्त संस्थाहरुमार्फत् ऋण लगानी गर्छ । लघुवित्तहरु थोक र खुद्रा कारोबारका लागि अलग अलग छन् ।
अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर आफैंले समुदायमा कर्जा लगानी गर्ने संस्थाहरुलाई खुद्रा कारोबार गर्ने संस्था भनिन्छ । तर केही संस्थाहरु भने आफैं समुदायमा पुगेर ऋण लगानी गर्दैनन् । उनीहरु स्रोत जुटाउँछन् र अन्य लघुवित्त संस्था वा सहकारीहरुमार्फत् समुदायमा लगानी गर्छन् । त्यस्ता संस्थालाई होलसेल लघुवित्त भनिन्छ ।
राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म नेपालमा ६३ वटा लघुवित्त संस्थ थिए, त्यसमध्ये जम्मा ३ वटा संस्था होलसेल कारोबारका लागि लाइसेन्स प्राप्त थिए । त्यही ३ मध्ये दुई संस्था मर्जर भएर अब ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार हुँदै छ । यसबाहेक फस्ट माइक्रोफाइनान्स पनि होलसेल कारोबारको इजाजतप्राप्त संस्था हो ।
यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त १ः०.८७ अनुपातमा शेयर आदानप्रदान (स्वाप) गर्दै मर्जरमा गएका हुन् । यसको मतलव आरएमडीसीमा यसअघि १०० कित्ता सेयर हुनेले अब नयाँ संस्थाको ८७ कित्ता प्राप्त गर्ने छ । साना किसानको सेयर जतिको त्यति नै रहने छ ।
यी दुई कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति पदान गरेका थिए । मर्जर प्रयोजनका लागि असार २२ देखि २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द गरिएको थियो । मर्जरपछि बढीमा १५ दिन यी कम्पनीको सेयर कारोबार रोक्का रहने छ ।
मर्जरअघि आरएमडीसी लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार र साना किसान लघुवित्तको १ अर्ब ९७ करोड ११ लाख ६१ हजार थियो । मर्जरपछि स्वाप भएर आरएमडीसीको पूँजी १ अर्ब ३६ करोडमा खुम्चिने छ । यही कारण मर्जरपछिको एकीकृत चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख कायम हुने छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म सानाकिसानमा १०२ जना र आरएमडीसीमा ३६ जना कर्मचारी छन् । साना किसानको ११ र आरएमडीसीको ३ शाखा कार्यालयहरु सञ्चालनमा छन् । साना किसानले एउटा सेवाकेन्द्र स्थापना गरेको भए पनि आरएमडीसीको सेवाकेन्द्र छैन । यसरी मर्जरपछि १५ वटा कार्यालयको सञ्जाल बन्ने भएको छ ।














