१८ श्रावण २०८३, सोमबार

ब्याजदर कार्टेलिङ्ग हट्यो, अब बैंकहरुले आफ्नो अनुकुलतामा ब्याजदर तोक्ने सक्ने



काठमाडौं । बैंकहरुको ब्याजमा गर्दै आएको कार्टेलिङ्ग हटेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याज कार्टेलिङ्लाई हटाउने निर्णय गरेको हो ।

अब बैंकहरुले नै आफ्नै ढंगले ब्याजदर तोक्न सक्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले अर्थपथलाई जानकारी दिए । उनले भने,–‘ब्याजदरमा लामो समयदेखिको कार्टेलिङ अन्त्य भएको छ । आज विहानको बैठकले ब्याजदरमा कार्टेलिङ्ग हटाउने निर्णय गरेको हो ।’

अब निक्षेपको ब्याजदर सम्बन्धित बैंकहरुले नै निक्षेपकर्तालाई व्याजदर तोक्नेछन् । आगामी साउन महिनादेखि लागू हुने ब्याजदरमा पनि बैंकहरु आ–आफ्नै अनुकुलतामा थपघट वा स्थिर राख्न सक्नेछन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेत रहेको कोइरालाले भने,–’आगामी साउन १ गतेदेखि लागू हुने ब्याज पनि बैंकहरुले आफ्नो अनुकुलतामा थपघट गर्न सक्नेछन् । संस्थाको अवस्था हेरेरै ब्याज बढाउने, घटाउने तथा स्थिर राख्ने बैंकहरुको नै हातमा हुनेछ ।’

अगामी साउनमा बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्ने छ । तर घटाएको खण्डमा भने ९ प्रतिशत कायम हुनेछ ।