२६ श्रावण २०८३, मंगलबार

हिमालय एअरलाइन्सद्वारा इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात



काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले इन्टरनेट बुकिङ्ग इन्जिन सेवा सुरु गरेको छ ।

यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ्ग गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने कम्पनीले जानकारी दिएको छ । यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मुल्य खोजी, बुकिङ्ग व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिनेछ । एअरलाइन्स्ले ब्यागेज प्रि– बुकिङ्ग, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ्ग, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ । साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाईन चेक(इन पनि गर्न सक्नेछन् ।

यस नयाँ सेवाको सुरुवात भएकोमा एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने,“हाम्रा ग्राहकहरू हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ्ग इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।” यस नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकहरुलाई सहज रुपमा टिकट बुकिङ्ग अनुभव प्रदान गर्नेछ ।