'नेपाल-भारत' विद्युत व्यापारमा अर्काे फड्को, थप ३०० मेगावाट विद्युत निर्यात गर्न पीटीसी इन्डीयासँग पीपीए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘नेपाल-भारत’ विद्युत व्यापारमा अर्काे फड्को, थप ३०० मेगावाट विद्युत निर्यात गर्न पीटीसी इन्डीयासँग पीपीए



काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा थप ३०० मेगावाट विद्युत बिक्री गर्ने गरि थप नयाँ विद्युत खरिद बिक्री सम्झौता गरेको छ ।

हाल प्राधिकरणले एनटीपीसी भारत विद्युत व्यापार निगम (एनभीभीएन) मार्फत भारतको इनर्जी एक्सचेन्ज मार्केटमा ४५२ मेगावाट विद्युत बिक्री गर्दै आएको छ । अब पीटीसी इन्डीया मार्फत थप ३०० मेगावाट विद्युत बिक्री गर्ने गरि सम्झौता गरिएको हो ।

यसका लागि गत जुन २६ तारिखमा भारतको विद्युत व्यापार कम्पनी पिटीसी इन्डीयासँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको प्राधिकरणले जनाएको छ । एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी मुल्यमा विद्युत बिक्री गर्ने भएकाले यसमा पीपीए दर छैन । पीटीसी इन्डीयाले प्राधिकरण र भारतीय खुला बजारको बीचमा मध्यस्थकर्ता (ट्रेडर) को रुपमा काम गर्नेछ । सोहीअनुसार नै पीटीसी इन्डीयासँग सम्झौता भएको प्राधिकरणको भनाइ छ । अब यसका लागि प्राधिकरणले निश्चित आयोजनालाई स्रोत देखाएर भारत सरकारमा प्रस्ताव पठाउनुपर्नेछ । त्यहाँबाट स्वीकृति आएपछि यस अन्तरगत विद्युत निर्यात हुनेछ ।

अहिले भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा ४०० केभीको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत बिक्री गरिन्छ । तर, यस अन्तरगको बिजुली भने भारतको बिहार राज्यसँग जोडिएका १३२ केभीका चार अन्तरदेशीय प्रसारण लाइन प्रयोग गरेर बिक्री गरिने छ । रामनगर–गण्डक, रक्सौल–परवानीपुर, कटैया–कुशाह र कटैया–कुशाह–२ गरेर चार अन्तरदेशीय प्रसारणलाइन प्रयोग गरेर उक्त विद्युत भारतमा बिक्री गरिने गरि पीटीसी इन्डीयाँसँग सम्झौता भएको हो ।

यद्यपि, उक्त प्रसारण लाइनहरु प्रयोग गरेबापत प्राधिकरणले ह्वीलिङ चार्ज भने तिर्नुपर्छ । प्रतियुनिट ४० देखि ५० भारतीय पैसाको दरले ह्वीलिङ चार्ज तिर्ने गरि उक्त सम्झौता भएको हो । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा पनि प्राधिकरणले सोही दिनमा ह्वीलिङ चार्ज तिर्नुपर्छ ।

गत फागुनमा भारतमा सम्पन्ने नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठकमा बिहारसँग जोडिएका प्रसारणलाइन प्रयोग गरेर नेपालको विद्युत भारतमा निर्यात गर्न दिने सहमती भएको थियो । सोही अन्तरगत रहेर प्राधिकरण र पीटीसी इन्डीया बीच यस्तो सम्झौता भएको हो ।


प्रतिक्रिया दिनुहोस्